ट्रम्पले भने– मोदी धार्मिक व्यक्ति हुन्

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक स्वतन्त्रताको पक्षधर भएको बताएका छन् । 

दुई दिने भारत भ्रमणमा आएका ट्रम्पले मंगलबार पत्रकार सम्मेलन गरेका थिए । त्यही पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । यो भ्रमणमा ट्रम्पले कश्मिर, पाकिस्तान, विश्व व्यापार, कोराना भाइरस तथा दिल्लीमा अहिले भड्किएको हिंसाबारे पनि आफ्नो धारणा राखेका थिए । उनले नागरिकता संशोधन कानुनको विषयमा पनि बोलेका थिए ।

पत्रकार सम्मेलनमा एक पत्रकारले ट्रम्पलाई सोधेका थिए– तपाईं यहाँ आउनु भएको छ र दिल्लीमा हिंसा भड्किएको छ, प्रधानमन्त्री मोदीले तपाईंसँग नयाँ नागरिकता कानुन र र यो धार्मिक हिंसाको विषयमा के भनेका छन् ?

यो प्रश्नको जवाफ दिँदै ट्रम्पले मोदी धार्मिक व्यक्ति भएको र उनले धार्मिक स्वतन्त्रताको विषयमा नै कुरा गरेको बताएका हुन् । ट्रम्पले पत्रकार सम्मेलनमा मोदीको निकै तारिफ गर्दै उनले भारतलाई धार्मिक स्वतन्त्र बनाउन खोजेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘अन्य देशको कुरालाई लिएर हेर्ने हो भने भारतमा धार्मिक स्वतन्त्रता भएको पाइन्छ । मैले दिल्लीमा अहिले भएको हिंसाबारे सुनेको छु तर प्रधानमन्त्री मोदीसँग यस विषयमा केही पनि कुरा भएन ।’

दिल्लीमा नागरिकता कानुन संशोधनको विरोधमा भएको हिंसामा अहिलेसम्म कम्तिमा पनि १० जनाको मृत्यु भइसकेको छ । तर, यसलाई बिर्सँदै ट्रम्पले पत्रकार सम्मेलनमा मोदी अतुलनीय व्यक्ति भएको बताएका छन् ।



ट्रम्पले मोदीसँग पाकिस्तानसँग अहिले भइरहेको विवादबारे पनि कुराकानी गरेको बताएका छन् । ‘हामीले पाकिस्तानबारे निकै धेरै कुरा गरेका छौँ,’ उनले भने, ‘इमरान खानसँग मेरो राम्रो सम्बन्ध छ, भारत एउटा ठूलो र बलियो राष्ट्र हो ।’

उनले यो पत्रकार सम्मेलनमा पनि कश्मिरको मध्यस्थता गर्ने आफ्नो प्रयास जारी रहेको बताएका छन् । उनले भने, ‘भारत र पाकिस्तानबीच कश्मिर एउटा ठूलो समस्या हो, तर भारत तथा पाकिस्तान यसमाथि काम गर्नेछन् । यदि मैले केही गर्न सक्छु भने यसको मध्यस्थता गर्न चाहन्छु ।’



  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २०:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया