Sun, 05 Jul, 2020


पाेखरामा पनि सैनिक अस्पताल सञ्चालनमा
फरकधार / फागुन १४, २०७६

पाेखरा– नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० शय्या क्षमताको छ ।



नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उक्त अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपिडी सेवा रहेका छन् । त्यस्तै मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ ।

नवनिर्मित अस्पतालको निरीक्षणपश्चात  प्रधान सेनापति थापाले अस्पताललाई सुविधा सम्पन्न र व्यवस्थित गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेशअन्तर्गतका नेपाली सेनामा कार्यरत एवं पूर्वभूपू सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यसबाट लक्षित वर्गले भरपुर उपयोग लिनुपर्नेमा जोड दिए ।

अस्पतालका प्राविधि प्रमुख सेनानी डा आरजुचन्द्र सिंहका अनुसार अस्पतालमा हाल विभिन्न विषयका चिकित्सकसहित ७७ कर्मचारीको व्यवस्था भइसकेको छ । अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका २० हजारभन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपाली सेनाले यसअघि ६३५ शय्याको सैनिक अस्पताल छाउनी र ५० शय्याको नेपालगञ्ज अस्पताल सञ्चालन भइसकेको तथा इटहरीमा ५० शय्याको अस्पताल सञ्चालनको तयारीमा रहेको जानकारी दिए । अपांगमैत्री सो अस्पताल भवन एक वर्षको अवधिमा निर्माण  सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्