विवादका बीच नेकपाका शीर्ष नेता एउटै कार्यक्रममा, नेपालले भने– यस्ता उतारचढाव आउँछन्, आत्तिनुपर्दैन

काठमाडौं– नेकपा सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न सिफारिस गरेसँगै तातिएको सत्तारुढ दल नेकपाभित्रको राजनीति अब के होला भन्नेमा धेरैले चासो राखिरहेका छन् । 

तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको विशेष जोडबलमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरे पनि सो निर्णय कार्यान्वयन गर्ने पक्षमा प्रधानमनत्री ओली नहुँदा नेकपाभित्रको राजनीतिले बजार तताएको हो ।

बुधबार दिउँसोको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गरेको थियो । तर, सोही दिन साँझ प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधव नेपाललाई बालुवाटार बोलाएर सो निर्णय आफूले कार्यान्वयन गर्न नसक्ने बताए । उनले राष्ट्रिय सभामा युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको पनि नेपालसँगको भेटमा बताए ।

नेपालसँगको भेटमा ओलीले आफूले गम्भीर निर्णय गर्न सक्ने पनि संकेत गरे । प्रधानमन्त्रीको भनाइप्रति आक्रोश व्यक्त गर्दै अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी सचिवालयको बैठकको निर्णय नमान्ने हो भने ओलीले पार्टी नै छाड्नुपर्नेसम्मको अभिव्यक्ति दिए । 

यो विवाद राजनीतिक बजारमा अहिले ‘हट केक’ भएको छ । कतिपयले त अब नेकपा फुट्ने आकलन पनि गरिरहेका छन् । प्रधानमन्त्रीले ४० प्रतिशत सांसद लिएर पार्टी फुटाउने तयारी गरेको भनेरसम्म कतिपय सञ्चारमाध्यमले लेख्न भ्यमइसकेका छन् ।   

यही विवाद उत्कर्षमा पुगेको बेला बिहीबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायत शीर्ष नेता एउटै मञ्चमा उपस्थित भएका छन् । उनीहरु बागमती प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय भेलामा उपस्थित भएका हुन् । 



सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कार्यकर्तालाई निराश नहुन भन्दै आश्वासन दिएका छन् । मिडियामा आएका खबरहरु हेरेर निराश नहुन आग्रह गर्दै उनले भने, ‘यस्ता उतारचढाव आउँछन्, आत्तिनुपर्दैन ।’

नेपालले पार्टी एकताबद्ध भएको सन्देश दिन नै शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएको भनेर कार्यकर्तालाई थुम्थुम्याएका हुन् । उनीअघि बोलेका नेता ईश्वर पोखरेलले पनि माथिको विवादमाथि नै मिलाउने भन्दै कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।



नेताहरुले यस्ताे आश्वासन दिए पनि नेकपाकाे िववाद यत्तिकै साम्य हुने लक्षण देखिएकाे छैन ।

  • प्रकाशित मिति : फागुन १५, २०७६ बिहीबार १६:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया