५ लाख १० हजार विद्यार्थीले दिँदै छन् एसइई

काठमाडाैं— ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ ।

परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् । जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने पनिका कर्मचारीले बताए । 

गत वर्ष १० चैतबाट सुरु एसइईमा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिकतर्फ २४ हजार आठ सय १४ विद्यार्थी सहभागी थिए । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने भएपछि गत वर्षभन्दा यसपालि आंशिकतर्फ विद्यार्थी कम भएको हो । 

एसइईका लागि हाल सुरक्षा घेराभित्र जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ भइरहेको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो । तर, प्रदेशअनुसार प्रश्नपत्र भने छुट्टाछुट्टै छापिएका छन् । गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो । 

यस वर्ष एसइईका परीक्षा केन्द्र भने बढाइएको छ । देशभर एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष एक हजार नौ सय ६९ केन्द्र थिए । तर, केन्द्रको संख्या भने सार्वजनिक गरेको छैन ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार ११:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया