काठमाडौं– पछिल्ला केही दिनयता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा देखिएको विवाद र समीकरणले निकै चर्चा पाएको छ । यही समीकरणका कारण नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक्लिएको आभास उनीनिकट नेताहरुले गर्न थालेका छन् ।
र, यो अवस्थामा नेकपा पुग्नुको पछिल्लो कारण हो, नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान गरिएको तयारी । दुई वर्षअघि भएको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई अब नेकपाले राष्ट्रिय सभामा लैजाने भएको छ । तर, योबीचमा गौतमकै कारण पार्टीमा विभिन्न विवाद र नयाँ समीकरण बनेको देखिएको छ ।
सबैभन्दा पहिले त गौतमले आफू राष्ट्रिय सभामा जान पर्ने भए संविधान संशोधन भएपछि मात्र जाने अडान लिएका थिए । उनको अडानकै कारण नेकपाको सचिवालय बैठकले एउटा कार्यदल पनि बनाएको थियो । माधव नेपाल नेतृत्वमा बनेको यो कार्यदल २४ घन्टामा नै विघटन हुन पुग्यो । सचिवालय बैठकमा यो कार्यदलको प्रसंग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेको चर्चा बाहिर आएको छ ।
गत मंसिरमा नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र पार्टीको नेतृत्वमा थप प्रभावकारी भूमिका देखिने गरि प्रचण्ड आउने निर्णय भएको थियो । त्यही बेला प्रचण्डलाई नेकपा सचिवालयले दिएको भूमिका थियो– कार्यकारी अध्यक्ष ।
पछिल्ला घटनाक्रम हेर्दा प्रचण्डले आफूलाई पार्टीमा अझ बलियो बनाउन अगाडि सरेको प्रष्ट हुनसक्छ । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र उनका सर्त मान्न प्रचण्डले देखाएको भूमिकाले पनि यसलाई प्रष्ट पार्छ ।
यही क्रमको सिलसिला हुनुपर्छ, शुक्रबार विहान अध्यक्ष प्रचण्डको निवासमा नेकपा शीर्ष नेताहरुको बैठक बसेको छ । खुमलटार स्रोतका अनुसार बैठकमा केपी शर्मा ओलीबाहेक नेकपाका शीर्ष नेता सबै उपस्थित थिए । बैठकमा माधवकुमार नेपाल, वामदेव गौतमदेखि वर्षमान पुनसम्म सहभागी भएको स्रोतले जानकारी दिएको छ ।
योसँगै अब प्रश्न उठेको छ, के अब नेकपामा प्रचण्डमा साँच्चिकै सक्रियता बढेको हो ?
‘पछिल्ला घटनाहरु हेर्दा त्यस्तो लाग्छ, केही समयअघि भएको केन्द्रीय समितिको बैठकपछि प्रचण्डले पार्टीमा सक्रियता एक स्टेप बढाएका छन्, अब बल्ल पार्टीमा उहाँ कार्यकारीजस्तो आभास हुन थालेको छ,’ प्रचण्डनिकट एक सांसद तथा नेकपा केन्द्रीय सदस्यले फरकधारसँगको कुराकानीमा भने, ‘आखिर पार्टी र सरकार फरक फरक व्यक्तिले चलाउने भन्ने पहिले पनि सहमती भएको हो, यहीअनुसार कमरेड प्रचण्ड सक्रिय हुनु र पार्टीलाई चलायामान बनाउन खोज्नु अन्यथा होइन ।’
उनले प्रचण्डले पछिल्लो समय पार्टीको अधिकारअनुसार र पार्टीको चाहनाअनुसार सरकार चल्नु पर्ने भएकाले र सरकारलाई थप बलियो बनाउन नै प्रचण्डले पार्टीका कामकारवाहीमा बढी चासो दिन थालेको पनि बताए ।
तर, ओलीनिकट एक नेता चाहिँ यसलाई प्रचण्डको अनावश्यक सक्रियता मान्छन् । ‘उहाँहरुले पछिल्लो समय जे गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसले आम जनतामा पार्टीप्रति राम्रो सन्देश गएको छैन, सरकारले पनि पार्टीका पछिल्ला घटनाक्रमका कारण राम्रो काम गर्न पाएको छैन ।’
उनले जनताले एकपटक निर्वाचनमा हराइसकेको व्यक्तिलाई संसदमा लैजान र एक व्यक्तिका लागि संविधान संशोधन गर्ने विषयलाई निकालेर आम मानिसमा नेकपाको छवि धुमिल बनाउन प्रचण्ड सक्रिय रहेकाले पनि समस्या देखिन थालेको बताए ।
‘तर, हो पछिल्लो समय प्रचण्डको सक्रियता केही हदसम्म बढेको छ,’ उनले भने, ‘यो सक्रियता पार्टीका लागि भए राम्रो हुन्छ, पार्टीको विकासका लागि नभइ र आफू सत्तामा पुग्न वा पार्टीमा शक्ति सन्चय गर्छु भनेर अगाडि बढ्न मात्र हो भने यसले राम्रो गर्न सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।