धमाधम बन्दै छ रानीपोखरी [तस्वीरहरु]

काठमाडौं– २०७२ साल वैशाख १२ गते । विनाशकारी भूकम्पले नेपालका पुराना र साँस्कृतिक महत्वका भवन तथा सम्पदाहरुमात्र क्षतिग्रस्त गरेन, नेपाली मनहरुमा पनि एउटा नमीठो छाप छोडेर गयो ।

विस्तारै नेपाली मन जुट्न छाडे, टुटेका मन जोडिन थाले । 

तर, अझै पनि सरकारले सोचेको गतिमा नेपालका साँस्कृतिक सम्पदाहरुलाई विकास गर्न सकिसकेको छैन । अहिले पुनर्निमाण भइरहेको यस्तै साँस्कृतिक महत्वको सम्पदा हो, रानीपोखरी । 

काठमाडौँको मुटुमा रानीपोखरी (नेपाल भाषामा न्हू पुखू) १७ औँ शताव्दीमा मल्लकालीन राजा प्रताप मल्लले पुत्रवियोगमा परेकी आफ्नी श्रीमतीलाई खुसी बनाउन बनाएको भन्ने मानिन्छ । वर्गाकार आकारको यो पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दीरमा वर्षमा दुई पटक भाइ टिका र छठ पूजामा मात्र खोलिन्छ । तर, चार वर्षयता यो मन्दिर खुलेको छैन, रानीपोखरीमा पानी सुकेको छ जसले पोखरीलाई ओभानो बनाएको छ ।

पहिले यो पोखरीको निर्माणका लागि नयाँ शैली अपनाउने भनिएको थियो । तर, यसको विरोध भयो । अब पुरानै शैलीमा यसको निर्माण भइरहेको छ, अर्थात् बालगोपालेश्वर मन्दीर अब शिखर शैलीमा निर्माण हुँदैछ । 

रानी पोखरी पुनःनिर्माण उपभोक्ता समितीका सचिव रोशनकाजी तुलाधर भन्छन्, ‘गएको तिहारमा पोखरीको निर्माण सक्ने हाम्रो योजना थियो । त्यही अनुसार काम पनि गरिरहेको हो । तर बिचमा आइराख्ने समस्या र निर्माण सामग्रीको अभावले समय मै काम सम्पन्न हुन सकेन । अब हामी सकेसम्म यसलाई छिटो निर्माण सम्पन्न गर्ने हिसाबले काम गरिरहेका छौँ ।’



अहिले रानी पोखरी मात्रै निर्माणको काम उपभोक्ता समितीले गरेको छ भने बालगोपालेश्वर मन्दिर, मन्दिर सम्म जाने पुल निर्माण र पोखरीको सौन्दर्यकरणको काम ‘सिएमजेभी’ कम्पनीले गरिरहेको छ । पोखरी र मन्दिरको काम छुट्टै संस्थाबाट भएकोले पोखरी उद्घाटनमा केही ढिला हुन सक्ने बताउँछन् रोशनकाजी तुलाधर । 

‘सिएमजेभी’ ले मन्दिर,पुल र सौन्दर्यकरणको १४ करोड र प्राधिकरणले पोखरीको पिँध र पर्खालहरुको साढे ९ करोड गरी जम्मा २३ करोड ५० लाखमा रानी पोखरी निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको रोशनले बताएका छन् । पोखरी निर्माणमा सिमेन्टको प्रयोग गरिएको छैन । सुर्की भनिने इँटाको धुलो, बालुवा र चुन मिसाएर ८ दिनसम्म पकाएपछि जुन लस्सा तयार हुन्छ त्यहीबाट इँटालाई जोडिएको छ, भक्तपुर, ललितपुर लगायतका ठाउँहरुबाट मल्लकालको जस्तै इँटाहरु ल्याएर पोखरी निर्माण भइरहेको छ । मल्लकालकै वास्तुशैलीमा कुनै आँच नआउँने गरी पोखरी निर्माण भइरहेको रोशनले दाबी गरेका छन् । 



रानी पोखरीमा पनि जमिन बाटै पानी आउँछ कि भनेर भूगर्भबिद्लाई समेत ल्याएर जाँच गरेको तर खासै पानी नभएकाले त्यहाँ अब बाहिरबाट ल्याएर पानी हाल्ने कुराको निधो भइसकेको उनले बताए । 

उनले भने, ‘पोखरीको ९० प्रतिशत काम सकिएको छ । मन्दिर पनि त्यही गतीमा बनिरहेको छ । अहिलेसम्म पोखरीको ९ करोड मध्ये ५ करोड बजेट मात्र खर्च भएको छ । हामी सके सम्म बैशाख भित्रमा सबै काम सक्छौँ । प्राधिकरणले निर्माण गरे पनि अन्त्यमा यो नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ ।’

हेर्नुहोस्, रानीपोखरी निर्माणका केही तस्वीरः 

सबै तस्वीर: मनिषा पाैडेल/फरकधार

  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १३:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया