राजनीतिक दबाब बढ्ने वित्तिकै सुकुटे किन पुग्छन् प्रचण्ड ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार चितवनबाट सुकुटे पुगेका छन् । सिन्धुपाल्चोकको भोटेकोसीस्थित ‘सुकुटे बीच’मा यसपटक हुन लागेको सुकुटे महोत्सव उद्घाटन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । 

तर, यो प्रचण्डको पहिलो सुकुटे यात्रा होइन । 

जबजब राजनीतिक दबाब बढ्दै जान्छ, प्रचण्डको पहिलो रोजाइ सुकुटे बीच हुने गरेको छ ।

र, यसअघि जब नेपाली राजनीति वा उनको पार्टी राजनीतिमा कुनै ट्विस्ट एन्ड टर्न आएको छ, प्रचण्ड सुकुटे बीच पुगिहालेका छन् । 

यसलाई उनी रिफ्रेस हुन सुकुटे बीच जान्छन् भन्ने पनि गरिएको छ । राजनीतिक दबाब, चाप र थकान महसुस हुँदा, प्रचण्डले यसअघि बारम्बार सुकुटे बीचमा ‘बिदा’ मनाएका छन् । 

मोहन वैद्यसहितको पार्टी हुँदा माओवादीमा अन्तर्विरोध चर्किएको बेला होस् या त्यति बेला बाबुराम भट्टराईसँग परेको खटपटको समयमा नै किन नहोस्, प्रचण्ड सुकुटे बीच पुगेका छन् । त्यहाँ पुगेर उनले महत्वपूर्ण निर्णय पनि गरेका छन् । 



खुला राजनीतिमा आएपछि प्रचण्ड सुकुटे बीच पुगेको यो १३ औं पटक हो ।

सबैभन्दा पहिले प्रचण्डलाई सभामुख अग्नि सापकोटाले सुकुटे बीच पुर्याएका थिए । तर, अहिले सापकोटा सभामुख भएकाले प्रचण्ड यसपटक उनलाई नलिई सुकुटे पुगेका छन् । यसअघिका प्रचण्डका सबै भ्रमणमा सापकोटा पनि उनीसँगै सुकुटे बीच पुग्ने गरेका थिए । 



सापकोटाले नै पहिलो पटक प्रचण्डलाई सुकुटे बीचसँग परिचय गराएका थिए । 

केहीअघि फरकधारसँग कुराकानी गर्दै सापकोटाले भनेका थिए– काठमाडौंबाट नजिकै पनि छ र त्यहाँको प्राकृतिक सौन्दर्य अनुपम छ, त्यसैले अध्यक्ष कमरेडलाई सुकुटे बीच अत्यन्त मन पर्छ । 

प्रचण्ड पहिलो पटक २०६३ सालमा सापकोटासँग सुकुटे बीच पुगेका थिए ।

त्यसको पाँच वर्षपछि २०६८ साल असोज ८ मा पनि प्रचण्ड सुकुटेबीच पुगेका थिए । त्यसपछि उनको सुकुटे यात्रा अलिक बाक्लिन थाल्यो । 

पछि तत्कालीन एमालेसँग पार्टी एकता गर्ने सन्दर्भमा पनि प्रचण्ड सुकुटे बीच पुगेका थिए । त्यसपछि मात्र उनले पार्टी एकताका लागि आफू तयार रहेको अभिव्यक्ति दिन थालेका थिए र त्यसलाई अझ गहिरो तरिकामा अगाडि बढाउन पनि दबाब दिँदै आएका थिए ।

कतिसम्म भने तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताबारे वार्ता चलिरहँदा पनि प्रचण्ड सुटुक्क सुकुटे बीच पुगेका थिए । 

‘त्यहाँ गएपछि केही महत्वपूर्ण निर्णय आउन सक्ने यसअघि पनि बारम्बार महसुस गरिएको छ,’ प्रचण्डनिकट एक नेता भन्छन्, ‘यसपटक पनि प्रचण्ड त्यहाँ पुग्दा केही नयाँ र महत्वपूर्ण निर्णय आउने अनुमान गर्न सकिन्छ ।’

अहिले सत्तारुढ नेकपाको शीर्ष तहमा विवाद देखिएको छ । विशेषगरि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा प्रचण्ड र नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच विवाद देखिएको छ । शुक्रबारमात्र प्रचण्डले ओलीबाहेकका अन्य नेकपा शीर्ष नेतासँग छलफल गरेका थिए ।

यहीबीच प्रचण्डको यो सुकुटे यात्रालाई विशेष महत्वका साथ हेरिएको छ । उनले त्यहाँबाट फर्किएर गर्ने राजनीतिक निर्णयले नेपाली राजनीतिमा लामो समयसम्म प्रभाव पार्न सक्ने अनुमान नेकपाकै नेताहरुले गर्न थालेका छन् । 


  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १६:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया