पाँच वर्षीया बालिका प्रेरणा जाे क्यान्सरसँग संघर्ष गरिरहेकी छिन्

ललितपुरका स्थायी बासिन्दा प्रेमप्रसाद दुलाल र रञ्जना दुलालको घरमा पाँच वर्षअघि हर्षोल्लास छायो । कारण थियो, उनीहरुको पहिलो सन्तानका रुपमा छोरीको जन्म हुनु । पाँच वर्षअघिको त्यो खुसीमा त्यतिवेला बादल लाग्यो जतिवेला उनीहरुकी पहिलो सन्तान प्रेरणा एक्कासि बिरामी परिन् । 

गत जेठ महिनाको अन्तिम साता प्रेरणाको आँखा अचानक पहेँलो देखिन थाल्यो । उनको शरीरमा टाटा र दाग देखापर्यो । उनी बान्ता पनि गर्न थालिन् । जतिवेला वैदेशिक रोजगारीमा गएर प्रेम नेपाल फर्किएको केही दिन मात्र भएको थियो । छोरीलाई जण्डिस भयो क्यारे भन्ने आशंका गर्दै प्रेम प्रसादले उनलाई तुरुन्तै पाटन अस्पताल पुर्याए । 

पाटनमा प्रेरणाको उपचार सुरु भयो । छोरीलाई केचाहिँ भएको होला भनेर प्रेमप्रसादको मनमा चिसो पसेको थियो । प्रेरणाको पिसाब, रगतलगायत सबै परीक्षण गर्न नेपालबाहिर पठाइयो । प्रेरणालाई अस्पतालमा भर्ना गरिएको थियो । विभिन्न परीक्षणको रिपोर्ट ५ दिनपछि मात्रै आउने र त्यतिन्जेलसम्म प्रेरणालाई अस्पतालमै राख्नुपर्ने सुझाब अस्पतालले दियो । अस्पतालको रायअनुसार प्रेरणालाई अस्पतालमै राखियो । पाँचौँ दिन अर्थात् असार ३ गते डाक्टरले प्रेमप्रसादलाई आफ्नो कक्षमा बोलाए । उनीसँगै श्रीमती रञ्जना पनि भित्र जान खोज्दा उनलाई ‘एकछिन पख्नुस्’ भनेर रोकियो । श्रीमान्लाई मात्र भित्र बोलाएपछि रञ्जनाको मनमा चिसो पस्यो । मलाई किन भित्र जान नदिएको होला भनेर रञ्जनाको मनमा नानाभाँती तरंग खेल्न थाले । 
 
प्रेरणाको स्वास्थ्य रिपोर्टबारे कुरा गर्न चिकित्सकले प्रेमप्रसादलाई भित्र बोलाएका रहेछन् । उनी भित्र पुगेपछि डाक्टरहरुले कुर्सीमा बस्न आग्रह गरे । डराई–डराई उनी बिस्तारै कुर्सीमा बसे । त्यसपछि डाक्टरले भनेको एउटा वाक्यले उनको मथिंगल नराम्ररी हल्लायो । प्रेमप्रसाद भन्छन्, ‘त्यो वाक्यले मलाई शून्यतामा पु¥यायो ।’ डाक्टरले भनेका थिए, ‘तपाईंको छोरीलाई ब्लड क्यान्सर भएको छ ।’ फेरि प्रेमले सुने– चिन्ता नगर्नुस्, ठिक हुन सक्छ ।’ 

ठीक हुन्छ अथवा हुँदैन भन्दा पनि प्रेमलाई यो कुरा स्विकार्न नै गाह्रो भयो कि आफ्नी प्राणभन्दा प्यारी छोरीलाई क्यान्सर भएको छ भनेर । भित्र मनमा जति चोट परे पनि उनले अब आफू सम्हालिनुपर्छ भन्ने पनि ख्याल गरे । किनकि उनले यो कुरा श्रीमतीलाई पनि सुनाउनु थियो । सुरुमा त भनौँ कि नभनौँ भनेर अलमलमा परे । त्यो दिन उनले श्रीमतीलाई केही भनेनन् । तर, ‘हुने हार दैव नटार’ भनेझैँ जे हुनु भइहाल्यो, आखिर उसकी आमा हो, सुनाउनैपर्छ, बरु सकेसम्म मेरी छोरीलाई राम्रो उपचार गर्छु भन्ने प्रण गर्दै आफैँलाई सम्हाल्दै छोरीलाई क्यान्सर लागेको कुरा श्रीमतीलाई सुनाए । प्रेमलाई यो खबर श्रीमतीलाई सुनाउन जति हम्मे परेको थियो, रञ्जनालाई त्यो कुरा स्विकार गर्न त्योभन्दा बढी हम्मे पर्यो । 

रञ्जना भन्छिन्, ‘छोरीलाई क्यान्सर भएको छ भन्ने स्विकार गर्न मलाई धेरै समय लागेको थियो ।’ नस्विकार्नुको अरू कुनै विकल्प पनि त थिएन । प्रेरणालाई त तुरुन्तै उपचारको आवश्यकता परिसकेको थियो । त्यसैले पाटन अस्पतालले प्रेरणालाई भक्तपुर क्यान्सर अस्पताल रिफर गरिदियो । 

भक्तपुरमा प्रेरणाको रोग पहिचान भइसकेपछि लगिएको थियो । त्यसैले उनलाई तुरुन्तै केमो पद्धतिबाट उपचार सुरु गरियो । सधैँ स्कुल जान एकदम रमाउने प्रेरणा अस्पताल धाउन थालेपछि ‘म किन अस्पताल जाने ? मलाई के भएको छ र ? जस्ता प्रश्न गर्न थालिन् । रञ्जना भन्छिन्, ‘पहिलो चरणको केमो र उपचार गर्न लैजाँदा सधैँ पेन्सिल र बुक झोलामा हालेर लैजानुपथ्र्यो । अब हामी स्कुल जाने भन्दै फकाउँदै अस्पताल लैजाने गथ्र्यौं । 



छोरीलाई गम्भीर रोग लागेकोमा दुलाल दम्पती जति चिन्तित थिए, अस्पतालको व्यवहारले उनीहरुले त्योभन्दा अझै बढी पीडित भएको महसुस गरे । भक्तपुर क्यान्सर अस्पतालको व्यवहारलाई रञ्जनाको दम्पतीले ज्यादतीको रुपमा व्याख्या गरेका छन् । पाँच वर्षीे कलिली क्यान्सरपीडित बच्चाको उपचारको लागि अस्पताल लग्दा आमा–बुबालाई बिरामीको अवस्थाबारे कुनै जानकारी नदिने र पटक–पटक ‘तिमीहरुसँग पैसा कति छ ?’ भनेर प्रश्न मात्र गर्ने प्रवृत्तिले उनीहरु हैरान भएका थिए । 

‘डाक्टरले बिरामीका जिम्मेवार व्यक्ति बोलाउँथ्यो । अनि कस्तो छ मेरो नानीलाई ठीक हुन्छ कि नाइँ भनेर सोध्दा उल्टै हप्काउँथ्यो,’ रञ्जना सुनाउँछिन्, ‘अनि पैसा कति छ कति ल्याउन सक्छौ भनेर निरास बनाउँथ्यो । 



ऋस्पतालको व्यवहारले उनीहरु आजित भइसकेका थिए । फेरि छोरीको उपचार त गराउनु नै थियो । त्यसपछि उनीहरु अस्पतालको विकल्प खोज्न थाले । रञ्जना भन्छिन्– हामी अर्कै अस्पताल खोज्न थाल्यौँ । भक्तपुर क्यान्सर अस्पतालबाट आशा मरिसकेको थियो ।’

एकातिर अस्पतालको अनावश्यक व्यवहार खेप्न बाबुआमालाई गाह्रो भएको थियो भने अर्कोतर्फ केमोको असरसँग जुध्न प्रेरणालाई निकै गाह्रो परिरहेको थियो । उनलाई बान्ता हुने, ज्वरो आउने र शरीर फुल्दै जाने हुन थाल्यो । 

छोरीलाई अस्पताल फेर्ने योजनाअनुसार राम्रो अस्पताल बुझ्ने क्रममा प्रेमप्रसादकै एकजना आफन्तले सिभिल हस्पिटल लैजान सल्लाह दिए । त्यसपछि प्रेमप्रसाद आफैँ  बुझ्नका लागि सिभिल अस्पताल पुगे । त्यहाँ बुझ्दा उनले बेड चार्ज भक्तपुरको भन्दा आधा सस्तो र उपचार पनि उत्तिकै राम्रो भएको थाहा पाए । यत्तिकै ल्याउन नमिल्ने होला कि भनेर उनले पुराना रिपोर्ट र भइरहेको उपचारबारे सिभिल अस्पतालकै चिकित्सकहरुसँग सल्लाह गरे । उता भक्तपुर क्यान्सर अस्पतालमा एक महिनासम्म प्रेरणालाई राख्दा आठ लाखभन्दा बढी पैसा खर्च भइसकेको थियो ।
 
साउनमा प्रेरणालाई सिभिल हस्पिटल ट्रान्सफर गरियो । प्रेमप्रसाद भन्छन्, ‘सिभिल आएपछि मरिसकेको आशा पनि पलाएर आयो । छोरीलाई के भइरहेको छ, कत्तिको सुधार छ, सबै कुरा डाक्टरले जानकारी गराउँथे । सबै रिपोर्ट आफ्नै आँखा अगाडि बुझाउँथे । अनि उपचार खर्च पनि सस्तो पर्न थाल्यो ।’ 

रञ्जना दिन दिनै कठोर बनेर आफ्नो मन बाँधिरहेकी थिइन् । उनलाई जसरी पनि छोरीलाई निको बनाएरै छाड्नुपर्छ भन्ने मात्र लाग्थ्यो । व्यर्थको पिर चिन्ता गर्न छाडेर छोरीकै स्याहारमा ध्यान दिन मात्र थालेकी थिइन् । सानै मान्छे भए पनि छोरीले पनि बिस्तारै आफू बिरामी छु भन्ने कुरा बुझ्दै गएकी बताउँछिन् रञ्जना । ‘बुझेपछि छोरीले आफैँ औषधि खान थालिन्,’ रञ्जनाले ओठ कमाउँदै भनिन्, ‘मामु मेरो औषधि खाने वेला भयो भनेर आफैँ सम्झाउन थाली ।’

गत शनिबार दिउँसो ३ बजे कुसुन्तीमा रहेको प्रेमप्रसादको डेरामा पुग्दा प्रेरणा सिथिल शरीर लिएर बिस्तरामा पल्टिरहेकी थिइन् । उनको ढाडमा हातले एकोहोरो थपथपाउँदै थिइन्, प्रेरणाकी आमा रञ्जना । रञ्जनाको काखमा अर्को सानो छोरा खेलिरहेको थियो । सुत्केरी भएकी रञ्जनाले स्याहार नपाएको उनको फुस्रो अनुहारले प्रस्ट देखाउँथ्यो । 
 
प्रेरणाको वरिपरि उनलाई हेर्न र बोलाउन आउने मान्छेको भिड थियो । तर, उनी ती मान्छेसँग हाँस्न, बोल्न र खेल्न सक्ने अवस्थामा थिइनन् । कसरी सक्थिन् त, जबकि ५ वर्षकै कलिलो उमेरमा उनी ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेकी छिन् । 

महांकाल गाउँपालिका ललितपुरमा घर भएको रञ्जना दुलालको परिवार दुई वर्षअघि मात्र कुसुन्ती झरेको थियो । गाउँमा राम्रो विद्यालय नभएकाले छोरीलाई पढाउन रञ्जना सहर आएकी थिइन् । बेरोजगारी समस्याको चपेटामा परेपछि प्रेमप्रसाद भने छारी जन्मिएलगत्तै खाडी मुलुक भासिएका थिए । सहर आएर रञ्जनाले छोरी प्रेरणालाई मन्टेश्वरीमा भर्ना गरिदिएकी थिइन् । उनी आफैँ पनि अर्को एक स्कुलमा काम गरिरहेकी थिइन् । २०७६ को जेठमा प्रेमप्रसाद आफ्नो ३ वर्ष लामो दुबई बसाइपछि एक महिना बिदा लिएर नेपाल आएका थिए । संयोग नै भनौँ, नेपाल आएको एक महिना पनि नहुँदै छोरीलाई गम्भीर रोग लागेको उनले थाहा पाए ।

डाक्टरहरुले प्रेरणालाई ६ चरणसम्म केमो दिनुपर्ने बताएका छन् । अहिले उनको चौथो चरणको केमो सकिएको छ । पहिलो केमोको उपचारपछि झरेको प्रेरणाको कपाल फेरि पलाएको थियो । प्रेरणा आफू सिथिल भए पनि सबैसँग कुरा गर्थिन्, हाँस्थिन्, खेल्थिन् । आफूलाई के खान मन लागेको छ, त्यो मम्मीसँग मागेर खान सक्थिन् । तर, दोस्रो र तेस्रो केमोपछि उनको सबै कपाल झरेको छ । 

चौथो चरणको केमोपछि प्रेरणा पटक्कै नबोल्ने भएकी छिन् । पहिला सानो भाइलाई काखमा बोक्न सक्ने प्रेरणा अहिले भाइपट्टि हेर्न पनि रुचाउँदिनन् । उनी मान्छे बोलाउँदा पनि झर्को मान्न थालेकी छिन् । आमा रञ्जनाले भनिन्, ‘अहिले छोरी निकै कमजोर भएकी छे । कोहीसँग बोल्न मन गर्दिन । घरमा कोही नभएका वेला मसँगचाहिँ अलिअलि बोल्छे । घाँटीबाट पाइप लगाएर केमो दिँदासमेत एक्टिभ थिइन् प्रेरणा । ‘पछि भाइ ठूलो भएपछि म बोक्न सक्दिनँ मामु अहिले नै काखमा राख्दिनु न भन्थी,’ रञ्जना भन्छिन्, ‘तर अहिले भाइलाई पटक्कै वास्ता गर्दिन । गर्नै नसक्ने भएर होला ।’

अहिले एक दिन बिराएर प्रेरणालाई अस्पताल पुर्याउनुपर्छ । चौथो चरणको केमोसम्म आइपुग्दा सिभिल अस्पतालमा मात्र १२ लाख रुपैयाँ खर्च भइसकेको छ । प्रेमप्रसाद भन्छन्, ‘अहिलेसम्म २१ लाख खर्च भइसकेको छ । यसमा ३ लाख डोनेसन र बाँकी रकम आफन्तसँग लिइएको ऋण छ ।’ डाक्टरले छोरीलाई ठीक हुने सम्भावना ७० प्रतिशत छ भनेका छन् । त्यही आशाले पनि उनीहरु हरसम्भव छोरी बचाउने प्रयासमा छन् । प्रेमप्रसाद भन्छन्, ‘अबको उपचारका लागि जसरी भए पनि रकम उठाउनै प¥यो ।’ प्रेरणालाई केमोपछि दुई वर्षसम्म लगातार औषधि सेवन र ५ वर्षसम्म अस्पताल फलोअपमा रहनुपर्ने चिकित्सकले बताएका छन् । 

दुलाल दम्पतीले छोरीको उपचारको लागि विभिन्न संघ–संस्था र व्यक्तिबाट सहयोगको अपेक्षा गरेका छन् । पाँच वर्षीया बालिकाको जीवन रक्षाका लागि सहयोग गर्न चाहने महानुभावले प्रेमप्रसाद दुलालको सम्पर्क नम्बर ९८४८८५९५७१ मा सम्पर्क गरेर वा सीधै उनको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ०७०७०१०००८४७९मा रकम उपलब्ध गराउन सक्नुहुनेछ । 

  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १७:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया