टी २० मा सन्दीप लामिछानेका १०२ विकेट्सः पहिलो एलबिडब्लू, १०० औँ क्याच

काठमाडौं– सन्दीप लामिछाने अब चितवनको क्याम्पाचौरमा खेल्ने एउटा सामान्य ‘केटो’ रहेनन् । उनले जुन नेम र फेम विश्वमा बनाएका छन् र जुन कौशलका साथ विकेटहरु ढालिरहेका छन्, त्यसले विश्वमा क्रिकेट प्रेमीहरुको ध्यान उनीतिर तानिएको छ ।

त्यसैले हुनुपर्छ, केही दिनअघि घोषणा भएको एशिया ११ टिममा उनी परेका छन्, विश्व ११ सँग खेल्नका लागि । यही टिममा विश्वमा ‘क्रिकेटको परिभाषा बदलिरहेका’ विराट कोहलीदेखि केएल राहुलसम्म छन् । 

तर, सन्दीपले यो नाम पाएको वा यो चर्चा पाएको पहिलो पटक होइन । उनी मेगा स्टार हुन थालेको केही वर्ष भइसकेको छ । जब उनी आइपिएलका लागि छानिए, त्यसपछि उनीमाथि नेपाली क्रिकेट प्रेमीले मात्र होइन, विश्वले ध्यान दिएर हेर्न थाल्यो । 

आज अर्थात् शनिबार । सन्दीप लामिछानेको जीवनको अर्को एउटा माइलस्टोन पूरा भएको छ । उनले टी २० अन्तर्राष्ट्रियमा सय विकेट लिएका छन् । यो नेपाली क्रिकेटरका लागि बनेको नयाँ रेकर्ड हो । इस्टर्न रिजन टी २० क्रिकेटको आज थाइल्यान्डमा भएको नेपालविरुद्ध मलेशियाको खेलमा सन्दीपले यो माइलस्टोन भेट्ट्याएका हुन् ।

तर, यो उपलब्धि हासिल गर्न सन्दीपले जुन धीरता देखाएका छन्, जुन मेहनेत गरेका छन्, त्यसको प्रशंसा गर्नैपर्छ । 

एकपटक उनले यहाँसम्मको यात्रा कसरी तय गरे भन्ने हेरौँ ।



 

टी २० मा पहिलो विकेट



सन्दीप लामिछानेले सन् २०१८ मे १२ मा पहिलो टी २० विकेट लिए । हो, उनले अरु खेलहरु पनि यसअघि खेलेका थिए । तर, ती खेलहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिएको थिएन । आइसिसीले मान्यता दिएको पहिलो टी २० खेलका लागि सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्स टिमबाट मैदानमा उत्रिएका थिए । 

इन्डियन प्रिमियर लिगमा अनुबन्धित भएपछि पहिलो खेलका लागि मैदानमा उत्रिएका सन्दीप लामिछानेले यो खेल रोयल च्यालेन्जर्स बैंगलोरविरुछ खेलेका थिए ।

अनि उनले त्यो खेलमा जमिरहेका पार्थिव पटेको विकेट लिए । 

यही नै सन्दीप लामिछानेको पहिलो टी २० अन्तर्राष्ट्रिय विकेट भयो । 

सन्दीप लिएका बिग विकेट्स

सय विकेट कटाउँदासम्म सन्दीप लामिछानेले ठूला ब्याट्सम्यानहरुको विकेट पनि हात पारेका छन् । 

तीमध्ये एक हुन्, सिक्स मेसिन । युनिभर्सल बोस अर्थात् क्रिस गेल । २० अप्रिल २०१९ मा सन्दीपले क्रिस गेलको विकेट लिएका थिए । त्यति बेला सन्दीप दिल्ली डेयरडेभिल्समा थिए । आइपिएलको यो खेलपछि सन्दीपले विश्वका अधिकांश चलेका ब्याट्सम्यानहरुको विकेट लिएका छन् । केएल राहुल, क्रिस लिन, किरोन पोलार्ड, बाबर अजामलगायतका खेलाडीका विभिन्न खेलमा सन्दीपले विकेट लिएका छन् । 

 

सबैभन्दा बढी राष्ट्रिय टिमका लागि

सन्दीप लामिछानेले अहिलेसम्म विभिन्न फ्रेन्चजाइज लिग र राष्ट्रिय टिमका लागि ७४ वटा खेल खेलेका छन् र त्यसमा १०२ विकेट लिएका हुन् । उनले फ्रेन्चाइजमा सबैभन्दा बढी विग बासमा मेलबर्न स्टारका लागि २६ विकेट लिएका छन् । दुई सिजनमा उनले यी विकेट लिएका हुन् । त्यस्तै, आइपिएलका दुई सिजनमा खेल्दा सन्दीपले १३ विकेट लिएका छन् । 

यता, नेपालका लागि १९ टी २० खेल खेलिसकेका सन्दीपले ३१ विकेट लिएका छन् । 

अफगानिस्तान प्रिमियर लिगमा पनि खेलेका सन्दीप लामिछानेले त्यहाँ आफ्नो नाममा दुई विकेट लिएका छन् । 

 


६७ विकेट क्याचआउट

सन्दीप लामिछानेले लिएका १०२ विकेटमध्ये ६७ विकेट क्याचआउट भएका हुन् । स्पिनर भएकाले पनि क्याचआउट बढी हुनु स्वभाविक हो । 

सन्दीपका अहिलेसम्म १६ वटा बोल्ड, १३ एलबिडब्लू र ६ विकेट स्टम्पिङ गराउँदै आफ्नो नाममा दर्ज गरेका छन् । 

 

सन्दीपको १०० औं विकेट

जारी इस्टर्न रिजन टी २० अन्तर्राष्ट्रियमा शनिबार (२९ फ्रेबुअरी २०२०) भएको खेलमा सन्दीप लामिछाने मलेशियाविरुद्ध बलिङ गर्न तेस्रो ओभरमा आए । यो खेलमा उनको यो पहिलो ओभर थियो । 

त्यति बेला मलेशिया १५ रन बनाएर खेलिरहेको थियो । मलेशियाका ओपनर दुवै क्रिजमा टिकिरहेका थिए । 

सन्दीपको पहिलो बल फेस गरेका थिए, भिरनदिप सिंहले । मलेशियाका सिंहले दोस्रो बलमा चाहिँ फराकिलो सट प्रहार गर्ने प्रयास गरेका थिए । तर, उनको बल पवन सर्राफको हातमा पुग्यो । पवनले त्यो क्याच मिस गरेनन् ।

यही विकेट नै सन्दीपको करिअरमा सयौँ विकेटमा दर्ज भयो । 

  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार १४:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया