काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका लागि आइतबार सायदै बिर्सन लायक दिन भयो । उनी आइतबार विहानबाट पार्टीका काममा व्यस्त भए ।
केही दिनयता पार्टीमा राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने विषयमा विवाद चलिरहेको छ । यही सन्दर्भमा उनले आज विहानै पार्टीका उपाध्यक्ष वामदेव गौतमदेखि नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै सल्लाह गरे । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सचिवालय बैठकका लागि उनी बालुवाटार पुगे ।
बालुवाटारमा प्रचण्ड र अन्य नेताहरु पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्य परीषणका लागि ग्रान्डी अस्पताल पुगेका थिए । उनी अस्पतालबाट फर्किएपछि बालुवाटारमा सचिवालय बैठक बस्यो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुलाई आफूले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको र चिकित्सकहरुको सल्लाहअनुसार बुधबार मिर्गौला प्रत्यारोपण गर्ने विषयमा जानकारी गराए । खासमा यो कुरा प्रधानमन्त्री ओलीले यसअघि कसैलाई पनि बताएका थिएनन् । त्यसैले पछिल्लो समय देखिएको विवादमा आफ्नो अडान कायम गर्ने हेतुले सचिवालय बैठक पुगेका प्रचण्डले प्रधानमन्त्रीले यो कुरा सुनाएपछि अरु कुरा केही भनेनन् । सचिवालय सबै सदस्यले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गरे ।
त्यहाँबाट प्रचण्ड सोझै राष्ट्रिय सभा गृहमा आइपुगे । सभागृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभा आयोजना गरिएको थियो । कार्यक्रममा प्रचण्डले सम्बोधन गरे । सम्बोधनमा क्रममा उनले कम्युनिस्ट पार्टीहरु एक हुनु पर्ने र अहिले भरतमोहन अधिकारीले दिएको शिक्षाका कारण आफूहरु यहाँसम्म आएको बताए ।
कम्युनिस्टहरु जनताका असल छोराछोरी भएको प्रचण्डको अभिव्यक्ति थियो । उनले कार्यक्रममा सम्बोधन गरेर फर्किने बेलामा दर्शकदीर्घाबाट एउटा कालो जुत्ता उनीतिर आयो । भलै जुत्ता मन्चमा पुगेन, तर त्यसको लक्ष्य प्रचण्ड थिए ।
कसले प्रहार गर्यो त प्रचण्डमाथि जुत्ता ?
प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा जुम्लाका २२ वर्षीय रतन तिरुवा हुन् । उनी पूर्वमाओवादी कार्यकर्ताका छोरा हुन् । उनका बाबुको मृत्यु माओवादी सशस्त्र युद्धमा भएको थियो । जुम्लाका यीनै युवाले प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरेका थिए ।
उनलाई प्रहरीले त्यहाँबाट तत्काल पक्राउ गरेको छ । अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उनलाई राखिएको छ ।
नेपालगन्जमा अमिन पढेका रतन अहिले काठमाडौंमा नै बस्छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका एक प्रहरीका अनुसार रतनले प्रचण्डका कुरा मन नपरेकाले र अहिले उनका कुरा फेरिएकाले आफू क्रुद्ध भएर जुत्ता प्रहार गरेको बताएका छन् । उनले आफूले गल्ती गरेको स्वीकार गरेर माफी मागेको पनि ती प्रहरीले जनाएका छन् ।
आफ्नो फेसबुक एकाउन्टमा रतनले परिचय लेखेका छन्– जबसम्म समान्तवादी र पुँजीवादी दुष्टहरुको अन्त्य हुँदैन, तबसम्म सर्वहारा बर्गको अधिनायकत्व प्राप्त हुँदैन । यतिमात्र होइन, रतनले बारम्बार आफ्नो फेसबुकमा माक्र्सवाद र माओवादका विभिन्न विचार पनि राख्दै आएका छन् ।
पछिल्लो पटक उनले फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर बदल्दै लेखेका छन्– माक्र्सवादको चरम दुरुपयोग भइरहेको छ ।
यसबाट प्रष्ट हुन्छ, रतन माओवादमा नै विश्वास राख्ने युवा हुन्, बाबु पार्टी कार्यकर्ता भएकाले पनि उनी नेकपासँग जोडिएका हुनसक्छन् । उनको फेसबुकमा कभर फोटोमा पनि कम्युनिस्ट नेताहरुको फोटो राखिएको छ ।
पछिल्लो समय नेकपामा देखिएको विवाद र प्रचण्डले बारम्बार दिँदै आएका अभिव्यक्तिका कारण रतनले विरक्त भएर उनीमाथि जुत्ता प्रहार गरेका हुनसक्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।