चौतारी र आरम्भ लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि पाए राष्ट्र बैंककाे स्वीकृति

काठमाडौं– नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि आइतबार स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्त पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले त्यस्तो स्वीकृति दिएको हो । 

दुई संस्था गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका रूपमा वित्तीय कारोबार गर्ने भएका छन् । बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोबार गर्दै आएको आरम्भले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को सर्त’ पूरा गरेको राष्ट्र बैंकले जनाएको छ ।

गाभिन लागेका दुवै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाबाट निर्णय गरेबमोजिम चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्तको कायम हुने शेयर ‘स्वाप’ अनुपात एकबराबर एक हुने गरी शेयर पुँजी मिलान गर्नुपर्नेछ । यस्तै गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नुपर्ने र शेयर कारोवारमा सहज हुने गरी रोक्का राखिएको धितोपत्र कारोवार फुकुवाको प्रबन्ध गर्नुपर्नेछ । 

यस्तै गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा राख्नुपर्ने, एकीकृत कारोवारसम्बन्धी सूचना दुईपटक सबै शेयरधनीले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ । 

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै लघुवित्तलाई गाभिनका लागि अन्तिम स्वीकृति दिइएको छ । नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कुल ६ लाख ४४ हजार २ सय ८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कुल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १६:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया