कोरी एन्डरसनले काठमाडौंबाट इपिएल खेल्ने

काठमाडौं– आगामी चैत १ गतेदेखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको एभरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा विश्व क्रिकेटका ठूला हस्तीहरु जोडिने क्रम जारी छ ।

इपिएलको यो संस्करणमा युनिभर्सल बोसका रुपमा परिचित वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल, वेस्ट इन्डिजकै ड्वेन, श्रीलंकाका उपुल थरंगा तथा जीवन मेन्डिस, आयरल्यान्डका आक्रामक ब्याट्सम्यान केभिन ओ  ब्रायनजस्ता खेलाडी जोडिइसकेका छन् । यो सूचीमा न्युजिल्यान्डका अलराउन्डर कोरी इन्डरसन पनि थपिएका छन् । 

उनी इपिएलको आगामी संस्करणका लागि काठमाडौं किङ्स इलाभेनमा आबद्ध भएका छन् । सोमबार (आज) काठमाडौंले प्रेस विज्ञप्ति निकाल्दै एन्डरसन इपिएलको आगामी संस्करणका लागि टिममा आबद्ध भएको जानकारी दिएको हो । 

एन्डरसनले सन् २०१४मा वेस्ट इन्डिजविरुद्ध ३६ बलमा शतक प्रहार गर्दै एकदिवसीयमा सबैभन्दा चाँडो शतक प्रहार गर्ने खेलाडीको रेकर्ड बनाएका थिए । तर, सन् २०१५मा दक्षिण अफ्रिकाका एबिडी भिलियर्सले ३१ बलमा शतक प्रहार गर्दै रेकर्ड आफ्नो नाममा गराएका थिए ।

काठमाडौंले २९ वर्षीय एन्डरसनलाई दोस्रो विदेशी खेलाडीका रुपमा क्लबमा  भित्र्याएको हो । यसअघि आयरल्यान्डका कभिन ओ ब्रायन क्लबमा अनुबन्धित भइसकेका छन् । 



पछिल्लो समय न्युजिल्यान्डको टिममा नपरे पनि एन्डरसनसँग इन्डियन प्रिमिर लिग (आइपिएल) खेलेको राम्रो अनुभव छ । उनले आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोर, दिल्ली क्यापिटल्स तथा मुम्बई इन्डियन्सबाट खेलेका थिए ।  कोरी एन्डरसनले न्युजिल्यान्डका लागि १३ टेस्ट, ५९ एकदिवसीय तथा ३१ टी– २० अन्तराष्ट्रिय खेल खेलेका छन् ।

सन् २०१३ अक्टोबर ९मा बंगलादेशविरुद्धको खेलबाट डेब्यु गरेका एन्डरसनले १ शतक तथा ४ अर्धशतकको मद्दतमा ६८३ रन बनाएका छन् । ११६ रन टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन हो । उनले सन् २०१६ फेब्रुअरी २० का दिन अष्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । 



सन २०१३ जुन १६मा इंग्ल्यान्डविरुद्धको खेलबाट एकदिवसीय  अन्तर्राष्ट्रियमा  डेब्यु गरेका उनले १ शतक तथा ४ अर्धशतकको मद्दतमा १,१०९ रन बनाएका छन् । १३१ रन उनको एकदिवसीयमा उत्कृष्ट प्रदर्शन हो । एन्डरसनले सन् १०१७ जुन ९मा बंगलादेशविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

सन् २०१२ डिसेम्बर २१ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट टी– २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका एन्डरसनले २ अर्धशतकको मद्दतमा ४८५ रन बनाएका छन् । ९४ रन उनको टी–२० मा उत्कृष्ट प्रदर्शन हो । एन्डरसनले सन् २०१८ नोभेम्बर २मा पाकिस्तानविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

त्यस्तै, एन्डरसनले टेस्ट क्रिकेटमा १६, एकदिवसीयमा ६० तथा टी–२० अन्तर्राष्ट्रियमा १४ विकेट लिएका छन् ।

४७ रन दिएर ३ विकेट हात पार्नु, टेस्ट क्रिकेटमा ६३ रन दिएर ५ विकेट हात पार्नु, एक दिवसीयमा तथा १७ रन दिएर २ विकेट हात पार्नु एन्डरसनको उत्कृष्ट बलिङ स्पेल हो ।   

  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १८:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया