कमेडी च्याम्पियनः तीन फाइनालिस्ट आफूहरुमध्ये कसलाई मान्छन् विजेता ?

काठमाडौं— हास्यव्यंग्य रियालिटी सो कमेडी च्याम्पियनको फाइनल केही दिनपछि हुँदैछ । योबीचमा फाइनलमा पुगेका तीनै प्रतिस्पर्धी गृहजिल्ला पुगेका छन् र भोट मागिरहेका छन् । 

रोल्पाका खड्गबहादुर पुन मगर, धादिङका हिमेश पन्त र सुनसरीका सुमन कोइरालाका विभिन्न भिडियो क्लिपहरु अहिले सामाजिक सन्जालमा निकै प्रयोगमा आइरहेका छन् । 

यी तीन प्रतिस्पर्धीलाई जिताउन उनीहरुलाई मन पराउने प्रशंसकले पनि अनुरोध गरिरहेका छन् । तर, यी तीनले आफूहरुमध्ये कसले कसलाई यो सोको विजेता मान्छन् त ? 

हामीले तीनै जना प्रतिस्पर्धीलाई प्रश्न राख्यौँ– कसले जित्ला यो सो ?

सबैभन्दा सुरुमा तीनै जनाले यसलाई रमाइलो प्रश्नका रुपमा लिए । अनि उनीहरुले तर्क र आफूले निकालेको निचोडमा एकअर्कालाई यो प्रतिस्पर्धाको विजेताका रुपमा अथ्र्याए । 

सोको अन्तिम तीनमा पुगेका हिमेश खासमा साइन्सका विद्यार्थी हुन् । समसामयिक विषयमा कमेडी गर्न रुचाउनले उनी आफू कमेडीमा लागेर यो स्थानमा पुग्छु भन्ने सोचेकै थिएनन् । 



हाम्रो प्रश्नको जवाफमा पनि हिमेशले पहिले कमेडी नै गर्न रुचाए । उनले भने– जसले धेरै भोट ल्याउँछ, उसैले जित्छ । अनि मज्जाले हाँसे । 

त्यसपछि यी कमेडियन अलिक गम्भीर सुनिए । अनि भौगोलिक रुपमा आफू ठगिएको आभास गरिरहेको कुरा सेयर गरे । ‘खड्ग बहादुर पुन पश्चिमका, उनलाई पश्चिमकाले भोट दिने भए,’ उनले भने, ‘सुमन पूर्वका, उनलाई पूर्वकाले भोट दिने भए । मेरो घर त बीचमा पर्यो, पूर्व र पश्चिमकाले उनीहरुलाई भोट दिने भए, मलाई भोट दिने कोही रहने भएनन् ।’



हिमेशले आफू बलियो प्रतिस्पर्धी भए पनि आफ्नो मूल्यांकन आफूले भन्दा दर्शकले गरिदिए खुसी हुने बताए । ‘सुमन कोइरालाको कन्टेन्ट राम्रो छ, प्रस्तुति पनि उनको राम्रो छ,’ उनले भने, ‘त्यसैले उनी विजेताको हकदार हुन् भन्ने लाग्छ । तर, मलाई पनि दर्शकले राम्रो मूल्यांकन गर्नुभएको होला भन्ने लाग्छ । त्यसैले यो प्रतिस्पर्धामा कसलाई विजेता बनाउने भन्ने त दर्शककै हातमा छ नि ।’

अर्का फाइनलिस्ट खड्गबहादुर पुन मगर चाहिँ अन्तिम तीनमा पर्नु भनेको तीन जना नै विजयी भइसकेको महसुस गर्छन् । ‘हामी उत्कृष्ट तीनमा परेका छौँ,’ उनले भने, ‘यहाँसम्म आइपुग्नु भनेको त हामी तीन नै विजेता भइसकेको जस्तो हो नि ।’ तर, उनी यतिमा नै रोकिएनन् । उनले पनि दर्शकको भोटका आधारमा नै एक जना प्रथम हुने भएकाले को होला भन्ने यसै खुट्याउन नसकिने बताए । 

‘मलाई हिमेशको कमेडी अत्यन्त प्रभावशाली लाग्छ,’ फरकधारसँग कुराकानी गर्दै खड्गले भने, ‘उनी साँच्चिकै लजिकल कमेडियन हुन् । उनका फ्यानहरु धेरै छन्, उनले नै यसपटक कमेडी च्याम्पियनको उपाधि जित्लान् ।’

तर, यतिमै रोकिएनन् उनी । अर्का फाइनालिस्ट सुमन कोइरालाबारे पनि बोल्न छुटाएनन् उनले । ‘अहिले कमेडी च्याम्पियनले धेरै दर्शक पाएको छ भने सुमन कोइरालाले गरेको दले दाइको क्यारेक्टरले त्यसमा पक्कै सहयोग गरेको छ,’ उनले भने, ‘त्यसैले उनी पनि हकदार त हुन् । तर, हामी तीन जनालाई नै यसको उपाधि सुहाउँछ भन्ने हामीले सोचेका छौँ ।’ अनि अन्तिममा उनले भने– यो सब तय गर्ने चाहिँ दर्शकले नै हो नि !

कमेडी च्याम्पियनका अर्का प्रतिस्पर्धी सुमन कोइराला चाहिँ आफूले नै कमेडी च्याम्पियन जित्छु भन्ने सोच्छन् । ‘मैले नै जित्छु जस्तो लाग्छ,’ उनले भने, ‘किनकि मलाई हार्न मन पर्दैन ।’

  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १०:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया