प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : बुधबार शिक्षण अस्पताल पुग्दा (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण भइरहँदा बुधबार बिहान अस्पताल परिसरमा पूरै भिडभाडको माहोल देखिन्थ्यो । 

सबैको हातमा ‘गेट वेल सुन डियर पिएम’ लेखिएको प्लेकार्ड थियो । एक ठाउँमा प्रधानमन्त्रीको ठूलो रंगिन तस्बिर थियो र त्यसैको छेउछाउमा मानिसहरु सेल्फी खिचिरहेका थिए । 

भिडभाड भए पनि वातावरण शान्त नै थियो । अस्पतालको प्रांगणभरि सञ्चारकर्मी छरिएका थिए । सुरक्षाकर्मी अस्पतालको गेटदेखि नै तैनाथ थिए । माहोल अलि भिडभाड भए पनि अस्पतालको सम्पूर्ण सेवा अन्य दिनमाजस्तै सामान्य ढंगले नै सुचारु थियो । 

अस्पतालभित्रबाट जोसुकै आए पनि सबैजनाको चासो उतै भइहाल्थ्यो र प्रश्न गरिहाल्थे, प्रधानमन्त्रीलाई कस्तो छ ? अस्पतालमा उपस्थित त्रिविका विद्यार्थी नेता प्रदीप भट्टलाई हामीले सोध्यौँ– प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नेपालकै अस्पतालमा हुँदै छ तपाईंलाई कस्तो लागिरहेको छ ? हाम्रो प्रशनको जवाफ दिँदै उनले देशको सरकारी अस्पतालमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणजस्तो जटिल सर्जरी गर्नु सबै नेपालीका लागि गर्वको विषय भएको बताए । ‘उहाँको यो कार्य महान्सँगै प्रशंसनीय छ । अब नेपाली जनतालाई प्राइभेट अस्पताल होइन, आफ्नै देशको सरकारी अस्पतालमा नै सक्षम चिकित्सक र राम्रो चिकित्सा प्रणाली छ भन्ने सन्देश जान्छ,’ उनले थपे, ‘यो नेपाली चिकित्साको क्षेत्रमा हासिल भएको ठूलो उपलब्धि हो । प्रधानमन्त्रीको यो कदमको सबैले सम्मान गर्नुपर्छ ।’ 

प्रधानमन्त्रीले नेपालमा रहेको सरकारी अस्पतालप्रतिको वितृष्णा तोड्ने काम गरेको उल्लेख गर्दै उनले भने, ‘म जुन राजनीति र सिद्धान्तलाई आत्मसात् गरेर हिँडे पनि प्रधानमन्त्रीको यो कामको सधैँ तारिफ गर्नेछु र शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’



धादिङदेखि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी सन्तोषी पौडेल हातमा प्ले कार्ड लिएर प्रसन्न मुद्रामा उभिएकी थिइन् । उनलाई निकै खुसी देखिनुहुन्छ किन हो ? भन्ने प्रश्न राख्दा उनले भनिन्, ‘प्रधानमन्त्रीको शल्यक्रियासमेत यही अस्पतालमा हुने रहेछ, सही ठाउँमा आएछु भन्ने लागेको छ ।’ सन्तोषीले फेरि भनिन्, ‘केपी ओली मेरो फेभरेट नेता हुनुहुन्छ । उहाँको अप्रेसन सफल भएर चाँडै देश र जनताबीच उपस्थित हुन सक्नुहोस् भन्दै शुभकामना दिन चाहन्छु ।’



प्रधानमन्त्रीलाई मिर्गौलापीडितको समूहले पनि सुस्वास्थ्यको कामना गरेको छ । मिर्गौलापीडित सरोकार समाजले प्रधानमन्त्रीको कामले सम्पूर्ण मिर्गौलापीडितलाई हौसला दिएको बताएका छन् । यसले नेपालमा नै मिर्गौलाको सफल उपचार छ भन्ने प्रमाणित गरेको छ भन्दै उनीहरुले प्रधानमन्त्रीलाई सुस्वास्थ्यको शुभकामना दिएका छन् । 

चर्चित सञ्चारकर्मी रवि लामिछाने आफ्नी श्रीमती निकिता पौडेलसँग बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनले आफू पनि प्रधानमन्त्रीको शुभचिन्तक रहेको भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण धेरै समयको प्रतीक्षापश्चात् नेपालमा नै गर्ने निर्णय गरिएको जानकारी गराए । प्रधानमन्त्री र सम्बद्ध चिकित्सकहरुको सल्लाहबमोजिम नेपालमा नै गर्ने निधो भएको उनले बताए ।

नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सार्वजनिक पदमा बस्ने व्यक्तिहरुले बाहिर उपचार गराउँदा हुने गरेका टीका–टिप्पणी कम हुने र अबका दिनमा अरुले पनि सिक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना व्यक्त गरे । 

 

  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १७:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया