नेपालको सर्वाधिक सफल क्रिकेट लिग हो, एभरेष्ट प्रिमियर लिग (इपिएल) सन् २०१६ देखि हुँदै आएको यो लिगको तीनवटा संस्करण सम्पन्न भइसकेको छ । इपिएलको चौथो संस्करणसम्म आइपुग्दा लिगले ३ फरक फरक टोलीलाई विजेताका रूपमा पाएको छ ।
इपिएलको विजेताले २५ लाख रुपैयाँ पुरस्कार तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी टिभिएसको मोटर साइकल पाउनेछ ।
इपिएलाई पहिलो संस्करणदेखि नै टिभिएस मोटरसाइकलले मुख्य प्रायोजकका रूपमा साथ दिँदै आएको छ । इपिएलको पहिलो संस्करणदेखि नै ६ वटा टिमको सहभागिता रहँदै आएको छ ।
इपिएलको पहिलो संस्करणमा टिमको नाम कर्पोरेट हाउसका आधारमा राखिएको थियो । पहिलो संस्करणमा विशाल गुप्रको विशाल वारियर्स, टेलिटक प्राइभेट लिमिटेडको कलर्स एक्स फ्याक्टर्स, शंकर गुप्रको जगदम्बा राइनोज, पञ्चकन्या गुप्रको पञ्चकन्या तेज कान्तिपुर पब्लिकेसनको कान्तिपुर गुर्खाज तथा घोराही सिमेन्ट्सको सगरमाथा लिजेन्टसले सहभागिता जनाएका थिए ।
इपिएलको दोस्रो संस्करणदेखि भने टिमको नाम सहरको आधारमा राखियो । इपिएलमा काठमाडौं, ललितपुर, चितवन, भैरहवा, पोखरा तथा विराटनगर सहरका नामबाट टिमले सहभागिता जनाएका छन् । हाल इपिएलमा यिनै ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो संस्करणमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रन हराउँदै उपाधि जितेको थियो भने दोस्रो संस्करण विराटनगर वारियर्सले १ तथा तेस्रो संस्करणमा लालितपुर प्याट्रियट्सले १४ रनले विजयी हुँदै उपाधि जितेका थिए । दुवैले फाइनलमा भैरहवा ग्याडिएटर्सलाई पराजित गरेका थिए ।
इपिएलमा प्रत्येक टोलीले सिंगल राउन्ड रोविनको आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन् । समूह चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर १ खेल्नेछन् र विजेता टोली सीधै फाइनल प्रवेश गर्नेछ ।
समूह चरणमा तेस्रो तथा चौथो स्थानमान रहने टिमले इलिमिनेटर राउन्ड खेल्नेछन् र विजेता टिमले क्वालिफायर १मा पराजित हुने टिमसँग क्वालिफायर २मा प्रतिस्पर्धा गर्नेछ । क्वालिफायर १ तथा क्वालिफायर २ को विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
इपिएलमा एउटा टोलीमा जम्मा १५ खेलाडी हुन पाउने व्यवस्था रहेको छ । जसमा बढीमा १० जना अक्सनबाट, कम्तीमा १ जना ट्यालेन्ट हन्टबाट तथा कम्तीमा ३ जना विदेशी खेलाडी (जसमा कम्तीमा १ जना टेस्ट राष्ट्रको हुनुपर्ने) तथा एकजना माक्र्यु खेलाडी (ऐच्छिक) हुनेछन् ।
इपिएलको आगामी संस्करण आउँदो चैत्र १– १५ (मार्च १४ –२८) सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
आगामी संस्करण अघिल्ला संस्करणभन्दा निकै उत्कृष्ट हुने निश्चित भइसकेको छ । यसको कारण हो, यसपटकको इपिएलमा विश्व क्रिकेटका चर्चित हस्तीहरूले खेल्ने पक्का भइसकेको छ । यस सिजनका लागि वेस्ट इन्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, न्युजिल्यान्डका कोरी एन्डरसनजस्ता खेलाडीले सहभागिता जनाउनेछन् ।
यो संस्करणको उद्घाटन खेल नै विशेष हुनेछ, किनकि यो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सले पोखरा राइनोजको सामना गर्नेछ । यो खेलमा वेस्ट इन्डिजका क्रिस गेलले पोखराको तर्फबाट खेल्ने सम्भावना रहेको छ ।
यस्तो छ, इपिएलमा सहभागी जनाउने ६ टिमको हाल सम्मको प्रदर्शन
१ .चितवन टाइगर्स
यो टिम इपिएलमा खासै बलियो मानिएको टोली होइन । एपिएलका चौथो संस्करणसम्म आइपुग्दा यो टिम गत सिजन प्ले अपसम्म पुगेको थियो । यस सिजनमा यो टिमको कप्तानी सोमपाल कामीले गर्ने सम्भावना छ । चितवन टाइगर्स आइडिएस ग्रुप प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ ।
चिनवनले विदेशी खेलाडीका रूपमा आयरल्यान्डका पल स्टर्लिङ, अफगानिस्तानका मोहम्मद सेहजाद तथा सिंगापुरका टिम डेभिडलार्ई अनुबन्धन गरेको छ ।जसमा सोमपाल कामी, भीम सार्की, कमलसिंह ऐरी, इशान पाण्डे, सागर ढकालजस्ता नेपाली खेलाडी पनि छन् । चितवनले हालसम्म मुख्य प्रशिक्षकको टुंगो लागएको छैन ।
२ पोखरा राइनोज
यो टिम इपिएलको कमजोर टिममध्ये एक हो । यो टिमले इपिएलमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । इपिएलको चौथो संस्करणसम्म आइपुग्दा यो टिमले दोस्रो संस्करणमा प्ले अप खेलेको थियो । यो टिमको कप्तानी विनोद भण्डारीले गर्ने सम्भावना छ ।
यो टिम गत संस्करणमा अन्तिम स्थानमा रहेको थियो । पोखरा राइनोज दीपा अग्रवालको स्वामितवमा रहेको छ । यो सिजनमा भने पोखराले आपूmलाई बलियो बनाएको छ । टिममा युनिभर्सल बोसका रुपमा परिचित वेस्ट इन्डिजका आक्रामक ब्याट्म्यान क्रिस गेल, स्कटल्यान्डका जर्ज मुन्से तथा वेस्ट इन्डिजका तीव्रगतिका बलर केस्रिक विलियम्स विदेशी खेलाडीको रूपमा अनुबन्धित छन् ।
उनीहरुलाई विनोद भण्डारी, सुशन भारी, रित गौतम, पृथु बास्कोटाजस्ता नेपाली खेलाडीले साथ दिनेछन् । पोखराको पनि हालसम्म मुख्य प्रशिक्षकको टुंगोे लागेको छैन ।
३.विराटनगर वारियर्स
विराटनगर इपिएलको दोस्रो संस्करणको विजेता टोली हो । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको कप्तानीमा रहेको यो टिम गत सिजन भने पाँचौँ स्थानमा थियो । विराटनगर वारियर्स विशाल अग्रवालको स्वामित्वमा रहेको छ ।
विराटनगरले हालसम्म कुनै विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छैन । यो टिममा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का करण केसी, वसन्त रेग्मी, आशिफ शेखजस्ता खेलाडी छन् । विराटनगरले पनि आप्mनो मुख्य प्रशिक्षकको बारेमा कुनै जानकारी गराएको छैन ।
४. काठमाडौ किंग्स इलाभेन
यो टोलीले इपिएलमा मध्यम प्रदर्शन गरिरहेको छ । यो टिमले इपिएलको गत सिजनमा प्लेअप खेलेको थियो । यो सिजन काठमाडौंको कप्तानी राष्ट्रिय टिमका उप–कप्तान दीपेन्द्रसिंह ऐरीले गर्ने सम्भावना छ । काठमाडौ किंग्स इलाभेन टेली होल्डिङ्स प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ ।
काठमाडौंमा न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डरसन तथा आयरल्यान्डका केभिन ओ ब्रायन विदेशी खेलाडीको रुपमा अनुबन्धित छन् । उनीहरुलाई दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सुवास खकुरेल, राजु रिजालजस्ता नेपाली खेलाडीको साथ हुनेछ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा यु–१९ टिमका प्रशिक्षक विनोद दासले काठमाडौंको प्रशिक्षण गर्नेछन् ।
५. ललितपुर प्याट्रियट्स
यो टोली इपिएलको साबिक विजेता हो । राष्ट्रिय टिमकम कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको यो टिम ललितपुर प्याट्रियट्स इटरनेसनल प्राइभेट कम्पनीको स्वामित्वमा छ ।
ललितपुरले श्रीलंकाका उपुल थरंगालाई टिममा अनुबन्ध गरेको छ । ललितपुरले ३ पाकिस्तानी खेलाडी हमाद अजाम, हसन खान तथा मिर हाम्जालाई पनि टिममा अनुबन्ध गरेको छ । ललितपुरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पवन सरार्फ, सन्दीप जोरा, ललित राजवंशीजस्ता नेपाली खेलाडी छन् । पूर्वराष्ट्रिय खेलाडी राजु बस्न्यात ललितपुरको मुख्य प्रशिक्षकका रुपमा छन् ।
६.भैरहवा ग्याडिएटर्स
भैरहवा ग्याडिएटर्स इपिएलको सर्वाधिक सफल टोली हो भैरहवाले इपिएलको सबै फाइनल खेलेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको यो टिम आदित्य सांघाईको स्वामित्वमा रहेको छ । शरदले कप्तानको रुपमा पञ्चकन्या तेजलाई इपिएलको पहिलो संस्करणको उपाधि दिलाएका थिए ।
भैरहवाले वेस्ट इन्डिजका ब्याट्म्यान ड्वेन स्मिथ श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस तथा मिलिन्डा श्रीवर्धना तथा ओमानका तीव्र गतिका बलर विलाल खानलाई विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको छ । त्यस्तै, टिममा शरद भेषवाकर, कुशल मल्ल, अभिनाश बोहोरा, रोहितकुमार पौडेलजस्ता नेपाली खेलाडी छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दाशानाइकेले यो सिजन भैरहवाको प्रशिक्षण गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।