मेडिकलवाला भन्छन्– होलसेलरले मास्क लुकाए, महँगो मूल्यमा त बेच्न सकिँदैन

काठमाडौं– गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड– १९ भाइरसले हालसम्म विश्वभरि तीन हजार  दुई सय ८१ जनाको मृत्यु भइसकेको छ भने ९५ हजार  दुई ८६ जनामा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्वमा महामारीको रूपमा कोरोना फैलिरहँदा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव सिर्जना भएको छ । 

केही समयअगाडि नेपालले सहयोगस्वरूप चीनलाई सर्जिकल मास्क निर्यात गरेको थियो । तर, अहिले नेपालमा नै सर्जिकल मास्कको चरम अभाव सिर्जना भएको छ । 

नेपालमा पहिले कस्मेटिक्स पसल र फार्मेसीमा सर्जिकल मास्क सजिलै उपलब्ध हुन्थ्यो । तर, अहिले तपाईं जुनसुकै फार्मेसी वा कस्मेटिक्समा मास्क किन्न जानुस्, एउटै जवाफ आउँछ– अहिले माक्स छैन, सर्टेज छ । 

त्यसो त सार्वजनिक यातायात होस् या अरु कुनै भिडभाड हुने बजार सर्जिकल मास्क हरेकले लगाएको भने देखिँदैन । त्यसैले हामीले काठमाडौंको चर्चित र व्यस्तमध्येको चोक बानेश्वरका १५ जनाभन्दा बढी कस्मेटिक्स पसल र फार्मेसीमा सोधेका थियौँ– मास्क अभाव कहिलेबाट भएको हो ? 

शिवशेखर फार्मेसीका विनोद अधिकारीले भने, ‘बितेको १५ दिनदेखि मैले सर्जिकल मास्क बेच्न पाएको छैन ।’ अरुवेला होलसेलरले पसलमा ल्याइदिने गरेको, तर अहिले उनीहरुले ल्याउन छाडेको र स्टक मास्क पनि सकिएको उनले बताए । उनले थपे, ‘होलसेलमा पनि छैन रे । अब महँगो भएर आएमा बेच्दिनँ । १० रुपैयाँभन्दा बढी पर्ने भयो भने  ग्राहकले हामीलाई ठग्यो भन्छन् ।’ त्यसकारण मूल्य बढेर आएमा मास्क नै नराख्ने उनले सुनाए ।

शाक्य कस्मेटिक्सकी शर्मिला श्रेष्ठको भनाइ पनि विनोदकैसँग मिल्दोजुल्दो छ । ‘२० दिनभन्दा बढी भयो, मास्क नआएको । अहिले त होलसेलले पनि २० रुपैयाँ तिर्यो भने मात्रै दिन्छ रे,’ उनी भन्छिन्, ‘त्यसरी ल्याएर त बेच्दिनँ । उपभोक्ताले मारिहाल्छन् नि ! पहिलेकै मूल्यमा आयो भने बेच्नुपर्ला नत्र बेच्दिनँ ।’



बानेश्वरकै राहुल फार्मेसीका कमल योगी मास्क बेच्न नपाएकोमा दुःख लागेको बताउँछन् । उनी भन्छन्, ‘सर्जिकल मास्क सधैँ ५ रुपैयाँमा बेच्ने गरेको थिएँ । पहिलेको स्टक सकिहाल्यो, नयाँ माक्स आउनै छोड्यो ।’ १५ दिनदेखि माक्स बेच्न नपाएको गुनासो गर्दै उनी थप्छन्, ‘यस्तो संकटको वेला मास्क बेच्न पाएको भए हुन्थ्यो । होलसेलरले कालोबजारी गर्दैछन् रे, त्यसरी त बेचिँदैन ।’ आफ्नो पसलमा मास्कभन्दा पहिले स्यानिटाइजर सकिएको उनले बताए । 

आर आर कस्मेटिक्सकी शर्मिलाले भने महँगै परे पनि मास्क पाए बेच्ने बताउँछिन् । ‘विचरा उपभोक्ता छटपटिएका छन्, बरु होलसेलबाट ल्याएको हो बिलसहितको प्रमाण देखाएर बेच्थेँ,’ भन्छिन्, ‘तर के गर्नु छैन ।’ 



सरकारले भने देशमै मास्क उत्पादन गर्ने तयारी गरिरहेको बताएको छ । मास्क र स्यानिटाइजरमा कालोबजारी गरेको थाहा पाएमा कारबाही गर्ने भनेर पनि उर्दी जारी गरेको छ । तर, न बजारमा अभाव हटेको छ, न कालोबजारी गर्ने कोही कारबाहीमा परेको थाहा पाइएको छ ।

  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १७:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया