एजेन्सी— अहिले विश्व कोरोना भाइरसको कहरका कारण प्रताडित भएको छ । कम्तिमा पनि आधा विश्वमा यो भाइरस फैलिइसकेको छ । नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने जोखिम अत्यन्त धेरै भएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।
तर, यो भाइरसको असर जति पुरुषमा देखिएको छ, त्यति महिला तथा बालबालिकामा यसको असर कम देखिएको छ । मृतकको तथ्यांक हेर्ने हो भने पनि महलिा तथा बच्चाहरुको मृत्यु हुने संख्या पुरुषको भन्दा निकै कम छ ।
चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले यसमाथि एउटा अध्ययन गरेको छ ।
अध्ययनका लागि कोरोना भाइरस संक्रमित ४४ हजार मानिसको स्याम्पल लिइएको थियो । उनीहरुमध्ये २.८ प्रतिशत पुरुषको मृत्यु भयो भने १.७ महिलाको मात्र मृत्यु भयो ।
उमेरको हिसाबमा कुरा गर्ने हो भने कोरोना भाइरस संक्रमित ०.२ प्रतिशत बच्चा तथा किशोरहरुको मृत्यु भएको छ भने ८० वर्षभन्दा माथिका व्यक्ति जसमा कोरोना भाइरस देखिएको थियो, उनीहरुमा १५ प्रतिशतको मृत्यु भएको थियो ।
के यसको अर्थ यो हो कि महिला र बालबालिकालाई कोरोना भाइरस हुने सम्भावना पनि कम हुन्छ र कोरोना भाइरसका कारण मृत्यु हुने सम्भावना पनि कम हुन्छ ?
यसलाई दुई अर्थमा बुझ्न सकिन्छ ।
पहिलो त के हुनसक्छ भने महिला तथा बालबालिकामा यो संक्रमण कम हुन्छ वा उनीहरुले यो भाइरसविरुद्ध लड्न सहजै सक्छन् ।
एक्सटर विश्वविद्यालयका चिकित्सक भरत पनखनिया भन्छन्, ‘जुन पनि नयाँ भाइरस आउँछ, त्यसबाट सबैजना संक्रमित हुन्छन् । यो अत्यन्त महत्वपूर्ण कुरा हो ।’ उनले यसको कारण त्यो भाइरससँग लड्न सक्ने क्षमता सबैमा विकास नभइसक्नुलाई बताएका छन् ।
तैपनि जुन भाइरस संक्रमण हुन थाले पनि बच्चाहरु त्यसबाट कम संक्रमित हुन्छन् । किंग्स कलेज अफ लन्डनका डाक्टर नथालिए म्याकडरमेट भन्छन्, ‘यसको कारण चाहिँ बच्चाहरुलाई उनीहरुका बाबुआमाले गर्ने हेरचाह हुनसक्छ, बच्चाहरुलाई बाबुआमाले सुरक्षित राख्छन् अनि उनीहरु संक्रमणको खतराबाट बच्छन् ।’
अहिले कोरोना भाइरसका कारण मृत्यु हुने महिलाको संख्या पुरुषको तुलनामा कम छ । यसले गर्दा विश्वभर विभिन्न आशंका वा सकारात्मक कुराहरु पनि उठाएको छ । तर, वैज्ञानिकहरु यसलाई सहज मान्छन् ।
किनकि फ्लूमा होस् या अन्य संक्रमणमा नै किन नहोस्, महिलाभन्दा पुरुषको मृत्यु अधिक भइरहेको हुन्छ ।
र, यसको कारण पुरुषको जीवनशैलीलाई प्रमुख दोषी मानिन्छ । किनकि पुरुषहरु महिलाभन्दा बढी मदिरा सेवन गर्ने, चुरोट पिउने हुन्छन् भन्ने विश्वास गरिएको छ । चीनमा अहिले कोरोना भाइरसका कारण मृतकको संख्यामा पुरुष बढी देखिनुमा पनि यसलाई कारण मानिएको छ । एक अध्ययनका अनुसार त्यहाँ ५२ प्रतिशत पुरुष धूमपान गर्छन् भने केवल तीन प्रतिशत महिलामात्र धूमपान गर्छन् ।
यसले गर्दा पुरुषको भन्दा महिलाको रोग प्रतिरोधात्मक क्षमता बढी हुने विश्वास गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।