Thu, 09 Apr, 2020


पाँच वर्षदेखि बन्द कोठामा नन्दकुमारी
फरकधार / फागुन २६, २०७६

जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ की नन्दकुमारी नेम्बाङका लागि विगत पाँच वर्षदेखि आँगन डिलमा निर्माण गरिएको टहरोको बन्द कोठा नै संसार हो ।



विद्यालय जान थालेको एक वर्ष पनि नहुँदै नन्दकुमारीको आनीबानीमा केही अस्वभाविक परिवर्तन देखिन थाल्यो । असामान्य व्यवहार देखाउन सुरु गरेकी उनी विस्तारै घर नै आउन छाड्ने भइन् । आमा पृथीमायाका अनुसार सुरुमा नन्दकुमारी सामान्य नै थिइन् । तर उनको असामान्य व्यवहार बढ्दै गएपछि विगत पाँच वर्षयता टहरोमा बाहिरबाट ताल्चा लगाएर राख्नु परेको उनको भनाइ छ ।

नन्दकुमारीमा मानसिक समस्या देखिएपछि नेम्बाङ परिवारले उपचारका लागि प्रयास नगरेको पनि होइन । उपचारकै लागि नन्दकुमारीलाई सिक्किमसम्म पु¥याएको पृथीमायाले बताइन् । ‘अस्पताल, धामी झाँक्री धेरै गरियो,’ पृथीमायाले भनिन्, ‘तर निको भएन । त्यत्तिकै छाड्दा कतै गएर फर्किन्न भनेर घरमै थुन्नु परेको हो ।’ याे समाचार हामीले नयाँ पत्रिकाबाट लिएका हाैँ ।

कता गएर हराउने हो कि भन्ने पीर र छोरीको मायाका कारण थुनेरै राख्नु परेको पृथीमायाले बताइन् । आपत परेका बेला छरछिमेकले गर्ने सामान्य सहयोगबाहेक सबै काम आमाकै जिम्मामा छ । नन्दकुमारीलाई राख्न सुरुमा सामान्य भाटाले बारेको टहरो बनाइएको थियो । नयाँ टहरा पाँच वर्षअघि निर्माण गरिएको हो ।

अहिले ३४ वर्ष पुगेकी नन्दकुमारीलाई खाना दिने बेलामा खोलेर दिने गरिएको छ । कहिलेकाहीँ नुहाइदिन मात्र बाहिर निकाल्ने गरिएको भन्दै पृथीमायाले प्रायः नन्दकुमारीलाई कोठाभित्रै थुनेर राख्ने गरिएको बताइन् । पृथीमायाले भनिन्, ‘बिचरा मेरी छोरीले बाहिरी दुनियाँ देख्न नपाएको नै पाँच वर्ष भइसक्यो ।’

श्रीमान् दुई वर्षदेखि ओछ्यानमा
पृथीमायाका दुःखका कथा यतिमा मात्र सकिँदैन । उनका श्रीमान् हर्कवीर नेम्बाङ पनि दुई वर्षदेखि ओच्छ्यानमै छन् । हर्कवीर ६ वर्षअघि घरमै बिस्कुन उठाउने क्रममा बोरा बोक्दा लडेका थिए । त्यसपछि राम्ररी हिँडडुल गर्न नसक्ने भएका उनी दुई वर्षदेखि भने अर्धचेत अवस्थामा ओछ्यानमा छन् ।

पृथीमायाको दैनिकी नै टहरोमा थुनिएकी छोरी र अर्धचेत अवस्थामा लडिरहेका श्रीमान्को हेरचाहमा बित्ने गरेको छ । पृथीमायाका दुई छोरामध्ये एक जना विदेशमा छन् भने अर्को पनि कामको सिलसिलामा गाउँभन्दा बाहिर छन् । ‘श्रीमान्को भन्दा पनि छोरीको पीर बढी लाग्छ,’ उनले भनिन्, ‘मैले गर्न सक्ने र थाहा भएसम्म सबै उपाय गरिसकेँ । थप उपाय भए अझै गर्ने मन छ तर कहाँ जाने, के गर्ने केही थाहा छैन ।’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्