भारतको मध्यप्रदेशमा राजनीतिक संकट, कांग्रेस महासचिवले दिए राजीनामा

एजेन्सी– भारतको मध्यप्रदेशमा जारी राजनीतिक संकटकाबीच कांग्रेससँग रुष्ट बनेका पार्टी महासचिव ज्योतिरादित्य सिंधियाले कांग्रेस पार्टीबाट नै राजीनामा दिएका छन् । 

उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई पठाएको राजीनामा पत्र ९ मार्चको मितिमा लेखिएको छ । तर, उनले यसलाई मंगलबारमात्र सार्वजनिक गरृका हुन् ।

राजीनामा पत्रमा सिन्धियाले कांग्रेसको प्राथमिक सदस्यबाट पनि आफूले राजीनामा दिएको लेखेका छन् । तर, यसको सुरुवात एक वर्षअघि नै भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘मेरो जीवनको उद्देश्य सुरु देखि नै आफ्नो राज्य र आफ्नो देशका मानिसको सेवा गर्नु थियो । अब मलाई लागेको छ कि यो कांग्रेस पार्टीमा बसेर मैले यो काम गर्न सक्दिनँ ।’ उनले आफ्ना मान्छे तथा कार्यकर्ताको आकांक्षा पूरा गर्नका लागि यही कुरालाई आफूले सही मानेको र यहीअनुसार आफू अगाडि बढेको बताएका छन् । 

उता, कांग्रेसले चाहिँ सिन्धियालाई पार्टीबाट निकालिदिएको बताएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार पार्टी महासचिव केसी वेणुगोपालले एक विज्ञप्ति जारी गर्दै पार्टीविरुद्ध गतिविधि गरेकाले तत्कालै सिन्धियालाई पार्टीबाट निस्काषन गरिएको जनाएका छन् ।



यसभन्दा पहिले सोमबार सिन्धियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए । उनीसँग केन्द्रीय गृहमन्त्री अमित शाह पनि सँगै थिए । उनीहरुले यो भेटघाटमा के विषयमा कुरा गरे भन्नेबारे चाहिँ जानकारी बाहिर ल्याएका छैनन् । तर, सिन्धिया अब भाजपामा जाने कुरा निश्चित भएको भारतीय राजनीतिक पन्डितहरुले अनुमान गरेका छन् । 

सिन्धियाको यो कदमसँगै मध्यप्रदेशमा कमलनाथ सरकारको संकट अझ गहिरिएको छ ।



जुन समयमा सिन्धियाले प्रधानमन्त्रीसँग भेटेका थिए, त्यही समयमा मुख्यमनत्री कमलनाथको घरमा कांग्रेसको आपतकालीन बैठक बसेको थियो । तर, बैठकमा के छलफल गरियो भन्ने पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

तर, सिन्धियाले पार्टी छोडेसँगै त्यहाँको सरकार ढल्ने निश्चित भएको छ ।

  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १६:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया