प्रधानमन्त्रीको स्वास्थ्यः के प्रधानमन्त्रीले आफैं दाह्री काटे ?
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री तथा देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली गत सोमबारदेखि अस्पतालमा छन् । १२ वर्षअघि पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि उनी सोमबार साँझ महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भए । नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले उनलाई मिर्गौला दिइन् ।

बुधबार दिउँसो सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्यही साँझ सकियो । नेपाली चिकित्सकको टोलीले यो अपरेसन सफलतापूर्वक सम्पन्न गरेको थियो । 

त्यसलगत्तै उनको सचिवालयका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र अस्पतालले समयसमयमा जारी गर्ने स्वास्थ्य बुलेटिनमा सन्चारमाध्यम तथा अन्य सबै उनको स्वास्थ्यबारे अपडेट हुन परिरहेको छ ।

र, यहीबीच अस्पताल र उनका सचिवालयका सदस्यले नै अथेन्टिक जानकारी दिइरहेका छन् । अस्पतालले प्रयोग गर्ने भाषा होस् या उनको सचिवालयका सदस्यले प्रयोग गर्ने भाषा किन नहुन्, सबै द्विअर्थी शब्दहरुबाट भरिपूर्ण हुन्छन् । 

उदाहरणका लागि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार विहान गरेको एउटा ट्विटलाई लिन सकिन्छ । उनले ट्विट गरेका छन्– 

‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिँडडूल र नियमित व्यायाम गरिरहनु भएको छ । उहाँ आफैंले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’



यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विट भयो । यसमा केही सन्दर्भपछि आऔँला । 



पहिले मंगलबार गरिएको प्रेस सम्मेलनमा प्रधानमन्त्री ओलीकी नीजि चिकित्सक डा. दिव्या सिंहको कुरामा जाऔँ । 

उनले मंगलबार भएको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘प्रधानमन्त्रीज्यू तुरुन्तै अस्पतालबाट जान चाहनुहुन्छ । तर, हामी विश्वस्त नहुँदासम्म उहाँलाई डिस्चार्ज गर्दैनौँ ।’ सँगसँगै उनले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भएकाले चाँडै डिस्चार्ज हुने सम्भावना रहेको पनि बताएकी थिइन् । 

अनि उनले थपेकी थिइन्, ‘उहाँ सामान्य मानिसजस्तै सक्रिय हुन कम्तिमा पनि ६ महिनादेखि एक वर्षसम्म लाग्छ ।’

अब फेरि सूर्य थापाको कुरामा फर्किऔँ ।

चिकित्सकले जसलाई सामान्य मानिस झैं सक्रिय हुन कम्तिमा ६ महिना लाग्छ भन्ने जानकारी दिएका छन्, तिनै व्यक्तिलाई प्रेस सल्लाहकारसमेत रहेका व्यक्तिले भनेका छन्– आफैं दाह्री काट्नु भयो । र, त्यो पनि अस्पतालको आइसियु वार्डमा । 

सामान्य तरिकाले सोच्दा पनि यसलाई सम्भव मानिँदैन । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार यसलाई बढो प्राथमिकता दिएर सूचना सम्प्रेषण गरिरहेका छन् । अर्कोतिर, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि अद्भुत रुपमा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको तर्क दिन विभिन्न समयमा ट्विट गरिरहेका छन् । 

जस्तो उनले ६ मार्चमा ट्विट गरेका छन्– प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो, उहाँले स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको र छिट्टै काममा फर्किन्छु भन्ने बताउनु भयो । आइसियुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पुगेका नेकपाका अन्य नेताहरुले उनको अनुहार पनि नहेरी फर्किएका छन् । जहाँ प्रधानमन्त्री ओलीलाई राखिएको छ, त्यहाँ उनलाई हेर्न मिल्ने एउटा सिसाको झ्याल छ तर त्यसमा पर्दा लगाइएको छ र त्यो विरलै खुलिरहेको छ । स्वयं प्रधानमन्त्रीका बाबु उनलाई भेट्न पुग्दा नहेरी फर्किएका छन् । तर, यहीबीच बारम्बार उनको सचिवालय सदस्यहरुले लेखेका छन्– प्रधानमन्त्रीसँग कुराकानी भयो, उल्लेख्य सुधार भएको छ ।

यदि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेजस्तै प्रधानमन्त्री ओलीले स्वयं दाह्री काटेका हुन् भने यस विषयमा अस्पतालले पनि क्ल्यारिफिकेसन दिनु आवश्यक छ । के आइसियुमा भर्ना भएको बिरामीलाई आफैं दाह्री काट्न दिइन्छ ? के मिर्गौला प्रत्यारोपण गरेको बिरामी केही दिनमा नै आफ्ना काम गर्न र व्यायाम गर्न सक्षम हुन्छ ?

काठमाडौंमा एउटा अस्पतालसमेत चलाइरहेका एक चिकित्सकले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको यस्तो अभिव्यक्तिलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिए । ‘आइसियुमा राखिएको बिरामीको दाह्री काट्ने भन्ने त हुँदैन, त्यसमाथि काटियो नै भने पनि स्वयं बिरामीले सक्दा पनि सक्दैन ।’

प्रधानमन्त्री अस्पतालमा भर्ना भएपछि दिनहुँ अस्पताल पुगेका एक नेकपा नेताले पनि पछिल्लो समय सचिवालय सदस्यहरुको बाट आइरहेका सूचना ‘हावा ताल’को भएको संज्ञा दिए । उनले भने, ‘बाहिर धेरै प्रेसर छ भन्ने बुझेर उहाँहरुले त्यस्तो गर्नु भएको होला,’ फरकधारसँग कुराकानी गर्दै उनले भने, ‘नत्र प्रधानमन्त्रीको खास अवस्था उहाँको उपचारमा संलग्न चिकित्सकबाहेक अरुले तिनै चिकित्सकको कुरालाई लिनेमात्र हो । त्यहाँ जानुभएका कोही पनि नेता र उहाँका सचिवालयका सदस्य कसैलाई पनि उहाँलाई भेट्न दिइएको छैन । तर, उहाँको स्वास्थ्य राम्रो हुँदै गइरहेको चाहिँ साँचो हो ।’

  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १७:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया