काठमाडौं– डा. लालमणि पाण्डेयद्वारा लिखित ‘हिन्दु राजनीतिक विचारधारा’ नामक कृति लोकार्पण भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि क्याम्पस राजनीतिशास्त्र विभागले बिहीबार कृति लोकार्पण गरेको हो ।
राजनीतिशास्त्र विभागका अध्यक्ष प्रा. पुरुषोत्तम दाहालको सभापतित्व र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. माधवराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वाल्मीकि क्याम्पसका प्रमुख डा. गणेशप्रसाद घिमिरे, प्राध्यापक संघ एकाइका अध्यक्ष देवमणि भट्टराई, नेसंवि प्राध्यापक संघका सभापति शम्भुराज गौतम, वाल्मीकि राजनीति शास्त्र विभागका पूर्वविभागाध्यक्ष डा. अम्बीर पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा उनीहरुले डा. पाण्डेय धर्मशास्त्र, राजनीतिशास्त्र र कानुनको त्रिवेणी भएको र उनको कृतिले वर्तमान नेपाली राजनीतिलाई सुधार गर्ने दिशामा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमकाे सहजीकरण डा. भेषराज अर्यालले गरेका थिए भने कृतिमाथि डा. जनकराज भट्टले समीक्षा गरेका थिए । समीक्षाका क्रममा उनले विमोचित कृतिले राजनीतिमा नैतिकताको महत्व उजागर गरेको भन्दै कृतिकार पाण्डेयलाई बधाई ज्ञापन गरेका थिए ।
धर्मशास्त्र र राजनीतिशास्त्रको तुलनात्मक अध्ययन गरी विद्यावारिधि गरेका पुस्तकका लेखक डा. पाण्डेय वाल्मीकिका पूर्वप्राचार्य पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।