अन्तर्राष्ट्रिय खेलक्षेत्रका को–को सिकार भए कोरोना भाइरस संक्रमणबाट ?

अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिएको छ । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरबाट सुरु भएको यो भाइरस अहिले विश्वका १०० भन्दा बढी देशमा पुगिसकेको छ । हालसम्म विश्वभर १,२७,३८० जना यसबाट संक्रमित भएका छन् भने ४,६३५ जनाले ज्यान गुमाइसकेका छन् । 

यो भाइरसको असर अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि परेको छ । कोरोनाकै कारण विश्वका धेरैजसो खेलकुदका प्रतियोगिता स्थगित भएका छन् भने स्थगित नभएका केही प्रतियोगिता पनि विनादर्शक खेलाइएका छन् । 

हालसम्म प्राप्त जानकारीअनुसार ६ जना अन्तर्राष्ट्रिय खेलाडी तथा १ जना खेलक्षेत्रका कर्मचारीमा यो भाइरसको संक्रमण देखिएको छ भने एकजना खेलाडीको मृत्यु नै भइसकेको छ । मृत्यु हुनेमा इरानी महिला व्यावसायिक फुटसल खेलाडी इल्हाम सेइखी छिन् । 

हालसम्म कोरानाबाट संक्रमित खेलाडी तथा कर्मचारीको विवरण यस्तो छ :

पउल अक्पन 
इटालीको तेस्रो डिभिजन क्लब पाइनेसबाट व्यावसायिक फुटबल खेल्ने पउल अक्पन कोरोना भाइरसको संक्रमण देखिएका पहिलो व्यावसायिक फुटबल खेलाडी हुन् । उनीसँगै क्लबका अन्य दुईजनालाई कोराना भाइरसको संक्रमण देखिए तापनि उनीहरूको नाम भने गोप्य राखिएको छ । गत फ्रेब्रुअरी २८मा उनीहरुलाई     कोरोनाको संक्रमण भएको पुष्टि भएको हो ।

यसका साथसाथै उनीहरुसँगै खेलेका युभेन्टस यु–२३ का केही खेलाडीलाई पनि कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । तर, उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको वा नभएको भने अझै पुष्टि भएको छैन ।
 
टिमो हर्ब्स
जर्मनको तेस्रो डिभिजन क्लब ह्यानोभरबाट व्यावसायिक फुटबल खेलिरहेका टिमो पनि कोरोनाको सिकार भएका छन् । उनलाई केही दिनअघि कोरोनाको संक्रमण भएको पुष्टि भएको हो ।



ड्यानियल रुगानी
युभेन्टसका सेन्टर ब्याक ड्यानियललाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । क्लबले बुधबार (हिजो) प्रेस विज्ञप्ति निकाल्दै उनलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो । यसका साथसाथै क्लबले उनको सम्पर्कमा आएका सम्पूर्णलाई विशेष निगरानीमा राखिएको जनाएको छ । 

रुडी गोब्रेट
उटाह जाजबाट व्यावसायिक बास्केटबल खेलिरहेका रुडीलाई पनि कोरोनाको संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण भएपछि एनबिएका खेल तत्कालका लागि स्थगित गरिएका छन् । उनलाई पनि बुधबार (हिजो)  क्लबले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
 
इभागेलोस मारिनकिस 
ग्रिस क्लब ओलम्पियाकोसका अध्यक्ष इभागेलोसलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई केही दिनअघि कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि यसको असर इंग्लिस प्रिमियर लिग (इपिएल) तथा युरोपा लिगमा देखिएको छ । 



दुई साताअघि युरापा लिगअन्तर्गत भएको आर्सनल तथा ओलम्पियाकोसबीचको खेलपछि इभागेलोसले दुवै टिमका खेलाडीलाई भेटेका थिए । पछि उनलाई कोरोना संक्रमण भएको खबर बाहिर आएको थियो । 

जसका कारण आर्सनलका खेलाडी आफैँ आइसोलेसनमा बसेका थिए । त्यसैले इपिएलअन्तर्गत बुधबार (हिजो) तय भएको म्यानचेस्टर सिटी तथा आर्सनलबीचको खेल स्थगित भएको थियो । त्यस्तै, मार्च १९मा युरोपा लिगअन्तर्गत हुने ओलम्पियाकोस तथा वुल्भ्सबीचको खेल पनि स्थिगत भएको छ । 

  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया