नाष्टका वैज्ञानिकले स्यानिटाइजर बनाउन तालिम दिने

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले हात धुने स्यानिटाइजर बनाउन तालिम दिने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को संक्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ उनीहरुले आफ्नो कार्यकक्षमा तालिम सञ्चालन गर्ने भएका हुन् ।   

नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालिम दिने भएको छ । नाष्टबाट तालिम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउनेछन् । यदि मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्वसावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ । 

तालिममा स्थानीय वस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा‍‍. सुरेशकुमार ढुंगेलले बताए । उनले भने, ‘हामीले विश्व स्वास्थ्य संगठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउनेछौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याक्टेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्म जीवाणु (भाइरस) कम गर्नेछ ।’ नाष्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुंगेलले बताए ।

मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ । उनले भने, अब हामी छिट्टै तालिम सञ्चालन गर्छौं । तालिममा स्थानीय रक्सी (तीनपाने रक्सी)लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइनेछ ।

यस्ताे स्यानिटाइजर प्रयोग गरेको ६ देखि आठ सेकेण्डमा यसले काम गर्छ । ललितपुरमै स्यानिटाइजरको उत्पादन सुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने स्याउलाले बताए ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १८:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया