क्वान्टम थियोरीबाट निस्किएर कमेडीमा

अर्काइभबाट
शनिबार नेपालकाे पहिलाे कमेडी रियालिटी साेकाे फाइनल भएकाे छ । याे साे हिमेश पन्तले जितेका छन् । केहीअघि हामीले हिमेशसँग कुराकानी गरेका  थियाैँ:

 

हिमेश पन्त । नेपालमा स्ट्यान्ड अप कमेडियनबारे सर्च गर्दा आउने पहिला नामहरुमध्ये एक हो यो ।

तर, अहिले जसरी हिमेशलाई चिन्न थालिएको छ, त्यसरी नै उनको बाल्यकालिन पहिचान स्थापित भएको थिएन । उनी त कक्षामा सधैं प्रथम हुन्थे, स्कुल टप गर्थे । त्यसैले धेरैको अनुमान थियो– हिमेश डाक्टर, इन्जिनियर वा पाइलट बन्छ ।

सबैले यस्तो अनुमान गरे पनि हिमेशलाई यसमा कुनै रुचि थिएन । आफू पढेको स्कुल टप गरे पनि उनलाई मान्छे हसाउनु पर्छ भन्ने लागिरहन्थ्यो, उनले त्यही बाटो समाते । 

‘राम्रो पढ्ने भएकाले सबैले डाक्टर, इन्जिनियर बन भन्थे,’ केही दिनअघि हिमेशले सुनाए, ‘तर, म स्कुलमै पनि विभिन्न आवज निकालेर शिक्षक तथा साथीहरुलाई हसाइरहेको हुन्थे, त्यसमा मेरो मन बसेको थियो ।’



अनि त्यही मनले उनको बाटो डोर्यायो । धादिङबाट विशिष्ट श्रेणीमा एसएलसी पास गरेपछि काठमाडौं भित्रिएका हिमेशको पहिलो प्राथमिकता अध्ययन थियो । तर, उनको प्यासन थियो– कमेडी । 

त्यसैले उनी कक्षामा फिजिक्सका थियोरी र केमेस्ट्रीका फर्मुलासँग मात्र सिमित भएनन् । अग्र्यानिक केमेस्ट्रीमा कार्बनको अनेक रुपबारे काम गरिरहँदा हिमेशले केभिन हार्टलाई पनि फलो गरिरहेका थिए, भौतिकशास्त्रमा वा रसायनशास्त्रमा कुनै विशेष व्यक्ति बन्न होइन, उनी हार्टजस्तै स्ट्यान्डअप कमेडीमा लाग्न चाहन्थे । 



साइन्स पढिरहेका हिमेश यो कुरा आफ्ना दाजुलाई सुनाउँथे । 

‘खुब बन्छस्, दाइले भन्नुहुन्थ्यो,’ हिमेशले सुनाए, ‘मेरो परिवारमा कमेडी भन्ने कुरालाई कसैले पनि सिरियस्ली लिएको थिएन, कमेडी गर्ने भनेको कुरा के हो भन्नेमा कोही पनि सिरियस थिएन ।’

त्यसो त, हिमेश स्वयंले पनि अलिक पहिलेसम्म अरुको नक्कल गर्नुलाई नै कमेडी हो भन्ने ठान्थे । 

‘अब अहिले आएर बल्ल बुझेको छु,’ उनले भने, ‘कमेडीको क्षेत्र त ठूलो हुँदो रहेछ ।’

उनको यो विचार म्यचुएर भएको नेपालमा सुरु भएका स्टान्डअप कमेडीका कार्यक्रमका कारण हो । ‘कमेडी सर्कलले मलाई ठूलो सहयोग गर्यो,’ हिमेशले भने, ‘त्यहाँ मैले मान्छेमात्र हसाइनँ, आफ्ना लागि पकेट खर्च पनि जुटाउन पाएँ ।’

यही कार्यक्रममा उनी संलग्न भएपछि उनलाई थाहा भयो, मान्छे हसाउनु भनेको चानचुने कुरा होइन रहेछ । 

‘मान्छे हसाउँनु त एउटा चुनौति रहेछ,’ उनले भने, ‘त्यसका लागि फिलिङ्ससहित जोक भन्नु पर्ने रहेछ । अनि त्यसरी फिलिङ्स ल्याउन नराम्रा शब्दहरु पनि बोल्नु पर्ने रहेछ ।’

यसरी हसाउनका लागि ‘छाडा शब्द’ पनि बोल्नु पर्ने भएपछि हिमेशले बाबुलाई भने– मैले मान्छे हसाउँन छाडा शब्द पनि बोल्नु पर्ने भयो, तर त्यसबाट पैसा पनि पाइरहेको छु । 

साइन्स पढिरहेको छोरोले मान्छे हसाउने काम गर्न थालेको छ भन्दा उनका बाबुले फरक अभिव्यक्ति दिए होलान् भन्ने अनुमान हुन सक्छ । तर, होइन । उनले भनेछन्– ठिकै छ नि, मान्छे पनि हाँस्छन् र पैसा पनि आउँछ भने । 

‘त्यसपछि म हौसिएँ,’ हिमेशले भने, ‘अनि त नयाँ नयाँ जोक बनाउन थालेँ ।’

बिएससी सकेका हिमेशले अब त आफूलाई प्रोफेसनल कमेडियनसमेत भन्छन् । यही क्षेत्रमा उनी लागेको अब दुई वर्ष पनि भइसकेको छ । ‘राम्रो कमेडीका लागि कन्टेन्ट चाहिन्छ,’ उनले भने, ‘त्यसका लागि अहिलेको अवस्थाबारे आफू अवगत पनि हुनुपर्छ ।’

त्यसैले पनि अहिले कमेडी च्याम्पियनमा प्रतिस्पर्धामा उत्रिएका हिमेश राजनीतिक व्यंग्य गरिरहेका हुन्छन्, त्यसका लागि उनी पत्रपत्रिका पढ्छन्, टिभी हेर्छन् र समाचारमा विशेष ध्यान दिन्छन् । अनि नेताहरुको क्यारिकेचर पनि गरिरहेका हुन्छन् । 

‘कमेडी च्याम्पियनमा सेलेक्ट भएको नै म प्रधानमन्त्रीको स्वरमा अंग्रेजी बोलेकाले हो,’ हिमेशले भने, ‘म त देशमा नेताहरुका कुराहरुमा अपडेट भइरहेको हुन्छु । त्यसबाट नै धेरै जोक बनाउँछु ।’

पछिल्लो समय मिडिया विधेयक, सूचना प्रविधि विधेयक आउँदा वा कोही कलाकार समातिँदा हिमेशको मनमा चिसो पस्छ । तर, यी सबलाई विरोध गरेर अगाडि बढ्नु पर्ने मान्छन् उनी । 

अनि उनी छोड्दैनन् नेताहरुमाथि व्यंग्य गर्न । 

हुन पनि हिमेशको एउटा सोको पन्चलाइन अहिले व्यापक भाइरल भइरहेको छ– नेताहरुले हाम्रो भोटको मज्जाक गर्न मिल्ने, हामीले उनीहरुको किन नमिल्ने ? 

  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार १९:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया