नेपाली क्रिकेटको एक दिवसीय यात्राका दुई वर्षः कति उपलब्धिमूलक रह्यो ?

काठमाडौं— आज मार्च १५ । अरु सबै क्षेत्रले यो दिनलाई बिर्सिए पनि नेपाली क्रिकेटले यो दिनलाई बिर्सन सक्दैन । नेपाली क्रिकेटका प्रशंसक तथा खेलाडीहरुले यो दिनलाई विशेष रुपमा आफ्नो मनमा सजाएका छन् । किनकि ठ्याक्कै दुई वर्षअघि आजकै दिन अर्थात् सन् २०१८ मार्च १५ नेपालले ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो ।

पहिले दुई वर्षको अगाडि फर्किऔँ । 

जिम्बावेमा आइसिसी एक दिवसीय विश्वकप छनोट खेल थियो । प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्यो । नेपालले यो प्रतियोगिताको खास उद्देश्य त पूरा गर्न सकेन, तर एउटा ठूलो उपलब्धि चाहिँ हासिल गर्यो । खासमा यो प्रतियोगिता विश्वकप छनोट प्रतियोगिता थियो । नेपाल विश्वकपमा छनोट हुन सकेन, तर एक दिवसीय मान्यता पायो । 

जिम्बावेबाट फर्किँदा त्यसैले नेपाली टोलीको त्यति बेला त्रिभुवन विमानस्थलमा भव्य स्वागत भएको थियो ।

तर, यी दुई वर्षलाई फर्केर हेर्दा नेपाली क्रिकेट टिमले आशा गरेअनुरुप सफलता हात पारेको छैन, त्यति बेला जे सोचिएको थियो त्यस्तो नतिजा दिन सकेको छैन ।

यी दुई वर्षमा नेपालले १० वटा एक दिवसीय खेल खेल्यो । १० मध्ये नेपालले पाँच खेलमा मात्र जित हासिल गर्यो । अन्य पाँच खेलमा हार व्यहोर्नु पर्यो । 



मार्चमा एक दिवसीय मान्यता पाएको नेपालले सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यु गर्यो । नेदरल्यान्ड्समा नै भएको पहिलो खेलमा नेपाल ५५ रनले पारजित भयो । 

त्यसको दुई दिनपछि नेपालले नेदरल्यान्ड्सविरुद्ध जित निकाल्यो । १ रनले मात्र जित निकालेको नेपालले यो सिरिजलाई १–१ को बराबरीमा चित्त बुझायो ।



नेपालले एक दिवसीय सिरिजमा जित निकाल्न एक वर्ष नै कुर्न पर्यो । सन् २०१९ को जनवरी २५–२८ मा भएको युएईविरुद्धको तीन खेलको सिरिजमा नेपालले २–१ को जित निकाल्यो । यो सिरिजको पहिलो खेल पनि नेपालले चाहेअनुसार हुन सकेको थिएन । २५ जनवरीमा भएको खेलमा ३ विकेटले पराजय भोगेको नेपालले २६ जनवरी र २८ जनवरीमा चाहिँ शानदार जित निकाल्यो । सिरिजको दोस्रो खेलमा १४५ रन तथा तेस्रो खेलमा ४ विकेटले नेपालले यो सिरिजमा जित निकालेको थियो ।

चार वर्षका लागि एक दिवसीय मान्यता पाएको ठ्याक्कै आधा समय भएको छ । 

त्यसैले अब प्रश्न उठ्न थालेको छ– के अब दुई वर्षपछि नेपाली क्रिकेटले फेरि एक दिवसीय मान्यता पाउला ?  

अधिकांश क्रिकेट प्रेमीहरु यसमा आशंका व्यक्त गर्छन् । किनकि पछिल्लो समय नेपालको खेल सोचेअनुरुप विकास हुन सकेको छैन । बरु प्रत्येक पटक नेपालले खेलेका खेलहरु हेर्दा नेपालको अवस्था झन्झन् कमजोर हुँदै गएको छ ।

हो, योबीचमा नेपाली क्रिकेटबाट आशा गरिने अरु केही कदमहरु भएका छन् । जस्तो कि, झन्डै चार वर्ष निलम्बनमा परेको नेपाल क्रिकेट एसोसियसन (क्यान) अब फेरि अस्तित्वमा आएका छ । नेपाली क्रिकेटले पुराना अनुभवी अर्का खेलाडी ज्ञानेन्द्र मल्ललाई कप्तानका रुपमा पाएको छ । नेपाली खेलाडीहरु सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्काहरु अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा सहभागी हुन थालेका छन् । कुशल मल्ल तथा सुशन भारीजस्ता आशालाग्दा अनुहार नेपाली क्रिकेट टिममा आएका छन् ।

यसबीचमा नेपालका पूर्वकप्तान समेत रहेका पारस खड्का सतक प्रहार गर्ने नेपालका पहिलो खेलाडी बनेका छन्, अन्य आठ खेलाडीले एक दिवसीयमा अर्धशतक प्रहार गरेका छन् । नेपाली बलरहरु सोमपाल कामी र सन्दीप लामिछानेले पनि उत्कृष्ट पारी खेलेका छन् । सोमपालले जनवरी २६ २०१९ मा युएईविरुछ ५ विकेट लिए भने सन्दीपले गत फ्रेबुअरीमा भएको अमेरिकासँगको खेलमा ६ विकेट हात पारेका थिए ।

यसबीचमा नेपालले केही विश्व रेकर्ड्समा आफ्नो नाम पनि लेखाएको छ । जस्तो कि, गत जनवरीमा युएईविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा रोहित कुमरा पौडेलले आफ्नो नाम लेखाएका थिए । त्यति बेला रोहित १६ वर्ष १४६ दिनका थिए । यसअघि यो रेकर्ड १६ वर्ष २१७ दिनको हुँदा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले आफ्नो नाममा लेखाएका थिए । 

तर, रोहितको यो रेकर्ड अर्का नेपाली खेलाडीले नै तोडेका छन् । उनी हुन्, कुशल मल्ल । मल्लले फ्रेबुअरी ८ मा अमेरिकाविरुद्ध भएको खेलमा अर्धशतक प्रहार गरे । अनि यतिबेला उनी १५ वर्ष ३४० दिनका थिए ।

यतिमात्र होइन, नेपालले अमेरिकालाई यसै वर्षको १२ फ्रेबअुरी भएको खेलमा ३५ रनमा अलआउट गरेर अर्को विश्व कीर्तिमान हासिल गरेको थियो ।

यही दुई वर्षमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड टियु क्रिकेट मैदानले पनि एक दिवसीय मान्यता पाएको छ । यसै वर्षको फ्रेबुअरी ५ मा ओमानविरुद्ध भएको खेलपछि यो क्रिकेट ग्राउन्डले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पायो ।

हो, नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्ष भएको छ । तर, यी दुई वर्षमा नेपालले सोचेजस्तो प्रगति गरेको र क्रिकेटका प्रशंसकलाई खुसी बनाएको देख्न सकिँदैन । 

यसका लागि अहिले नेपालले आइसिसी लिग २ मा खेलिरहेका खेलहरुलाई हेर्दा पनि हुन्छ । नेपालले यो प्रतियोगितामा ३६ खेलमध्ये ४ खेल खेलिसकेको छ । यी चारमध्ये दुई खेलमा मात्र नेपालले जित निकालेको छ । यी दुवै खेलमा पनि नेपालको प्रदर्शन त्यति सन्तोषजनक थिएन । 

यसले पुष्टि गर्छ, नेपालले एक दिवसीय मान्यता पाएपछिका खेलहरुमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । 

केही वर्षपहिले सम्म नेपालमा क्यान नै नभएकाले खेलको गुणस्तर घटिरहेको, खेलाडीहरुले उचित व्यवस्थापन नपाएको गुनासो सुनिन्थ्यो । तर, केही वर्षयता केही हदसम्म भए पनि यी समस्या समाधान भएका छन् । 

समस्याहरु विस्तारै समाधान त हुँदै छन् तर नेपाली क्रिकेटरहरुले वास्तविक खेल कौशल देखाउन सकिरहेका छैनन् । 

त्यसैले दुई वर्षअघि आजकै दिन पाएको एक दिवसीय मान्यता अबको दुई वर्षपछि नदोहोरिन पनि सक्छ । यसलाई बचाउने हो भने सरोकारवाला निकायले अहिले देखि नै तयारी गर्नु पर्ने देखिन्छ ।

  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १३:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया