एजेन्सी– कोरोना भाइरसले अहिले विश्वभर तहल्का मच्चाएको छ । अहिले भारतमा पनि कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । अहिलेसम्म भारतमा १११ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
भारत सरकारले कोरोना संक्रमण फैलिनबाट रोक्न र संक्रमितको उपचारका लागि विभिन्न ठाउँमा आइसोलेसन वार्ड बनाएको छ ।
यहीबीच दिल्लीमा रहेको सफदरजंग अस्पतालमा आइसोलेसन वार्ड नै लग्जरी होटलको जस्तो सुविधासम्पन्न भएको बताइएको छ ।
कोरोना संक्रमणबाट ठिक भएका ४५ वर्षका रोहित दत्तले आइतबार भारतीय मिडियासँग त्यहाँको आइसोलेसन वार्डमा बस्दाको अनुभव पनि सेयर गरेका छन् । ‘सरकारी अस्पताल कस्तो होला भन्ने सोच थियो,’ उनले भनेका छन्, ‘तर, त्यहाँ त्यस्तो थिएन । त्यहाँका कर्मचारी सबै मेन्टेन भएका थिए । अनि अस्पताल निकै सफा थियो, आइसोलेसन वार्ड त झन् लग्जरी होटलभन्दा कम थिएन ।’
उनले १४ दिन आइसोलेसनमा बस्दा पनि आफू एक्लो महसुस नभएको बताएका छन् । ‘त्यहाँ फोन, भिडियोकल तथा नेटफ्लिक्सजस्ता सबै सुविधा मैले पाएको थिएँ,’ विहारका दत्ताले भनेका छन्, ‘म त्यहाँ दिनमा दुई पटक प्राणायम गर्थेँ र चाणक्य नीति पनि पढ्थेँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।