उद्योगमन्त्रीको छड्केः कति प्रभावकारी, कति स्टन्टबाजी ?

काठमाडौं– विभिन्न सरकारहरुमा बनेका मन्त्रिपरिषद्मा कोही न कोही एक जना मन्त्री त्यस्ता हुन्छन्, जसले बजारको छड्केलाई आफ्नो प्राथमिकतामा राख्छन् । 

केहीअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै मन्त्रिपरिषद्बाट बिदा भएका गोकर्ण विष्ट, लालबाबु पण्डित पनि आफूले सम्हालेका मन्त्रालयअन्तर्गतका विभागहरुमा छड्के गर्ने गरेका थिए । त्यसलाई मिडियाले पनि राम्रो स्थान दिँदै आएको थियो । 

अब अहिलेको मन्त्रिपरिषद्मा उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्ट पनि छड्केमा निकै खटिएका छन् । केही दिनअघि उनी पोखरा पुगेर त्यहाँका पसलहरुमा छड्के गरेका थिए । त्यहाँ एउटा पसलमा उनले नुन किन्न खोज्दा पाँच रुपैयाँ बढी भनिएको थियो । मन्त्रालयले तत्कालै महंगो मूल्यमा नुन बेचेको भनेर त्यो पसललाई कारवाही गर्न सिफरिस गर्यो । 

तर, फरकधारले यसबारे बुझ्न खोज्दा त्यसको कारवाही प्रक्रिया अगाडि बढाइएको नै पाइएको छ । यसको अर्थ हो, उद्योगमन्त्रीले त्यति बेला पोखरामा छड्के हाने तर त्यसको रिजल्ट वा उपादेयता खासै केही आउन सकेको छैन ।

बुधबार पनि उद्योगमन्त्री लेखराज भट्ट उपत्यकाका पेट्रोल पम्प तथा कालिमाटीमा छड्केमा निस्किए । उनी पुगेको एक पेट्रोल पम्पका व्यवसायीले फरकधारसँग भने, ‘मन्त्रीज्यू आउनु भयो, जानुभयो । केही भएन ।’

‘अहिले खासमा सर्वसाधरणमा पेट्रोल सर्टेज छ भन्ने मेसेज भाइरल भइरहेको छ,’ उनले भने, ‘तर, वास्तविक अवस्था भने त्यस्तो होइन । अहिले नेपाल आयल निगमले आवश्यक मात्रामा तेल दिइरहेको छ, हामीले त्यसलाई सर्वसाधरणलाई बेचिरहेका पनि छौँ ।’



मन्त्रीले छड्केमा चाहिँ के गरे त ? 

‘आउनु भयो अनि तेल सर्टेज छैन भन्ने जानकारी दिनुहोस् है सर्वसाधरणलाई भनेर भन्नुभयो,’ उनले भने, ‘अरु त केही भएन । बजारमा तेल अभाव नभएकाले पनि उहाँ आउनु र नआउनुको कुनै अर्थ रहेन ।’



मन्त्रीले गरेको यस्तो छड्के अनुगमनलाई एक अर्थमा सकारात्मक रुपमा नै लिनु पर्ने धारणा राख्छन्, नेकपाका एक केन्द्रीय सदस्य । फरकधारसँग कुरा गर्दै उनले कम्तिमा पनि मन्त्रीले आफ्नो कार्य त गरिरहेको छ, यसलाई किन स्टन्ट भन्नु पर्यो र ?’

अर्कोतिर, उद्योगमन्त्री भट्टको छड्केप्रति उनकै मन्त्रलायका कर्मचारी चाहिँ खुसी छैनन् । 

‘उहाँले खासमा बसिबियाँलो गरेजस्तो गरिरहनु भएको छ,’ उद्योग मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीले भने, ‘अरु काम नहुँदा बजारमा पुग्नुलाई छड्केको नाममा समाचार बेचिएको मात्र हो । यसले सर्वसाधरणलाई नराम्रो त गर्दैन तर यसलाई प्रचारबाजीका रुपमा जसरी अगाडि ल्याइन्छ, त्यसलाई स्टन्टको रुपमा मात्र बुझ्दा पनि हुन्छ ।’

  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १४:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया