काठमाडौं– नेपाल एयरलाइन्सले भारतका सबै सहरमा उडान रोकेको छ । यसअघि दिल्ली उडान घटाएको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पछिल्लो निर्णयसँगै निगमका अधिकांश उडान रद्द गरेको छ ।
अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागू हुने गरी स्थगित गरेको छ ।
भारतले यसअघि नै गत २२ तारिखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय सहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने भएको छ । ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।
निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, युएईको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।