काठमाडौं– कोरोना भाइरस रोकथामसम्बन्धी बसेको उच्चस्तरीय समितिको वार्तामा भारतसँगका सीमा बन्द गर्न पर्ने कुरालाई जोड दिइएको छ ।
नेपाल भारत सीमाबाट हजारौँ मानिस नेपाल भित्रिएको र यसका कारण कोरोना संक्रमण नेपालमा फैलिन सक्ने भन्दै यो विषयमा जोड दिइएको हो ।
शनिबार साँझ अबेर बसेको बैठकमा मन्त्रीहरुले नै भारतसँगको सीमा बन्द नगरेमा जोखिम झन् झन् बढ्दै जाने बताएका छन् । बैठकमा सहभागी एक मन्त्रीले फरकधारसँग गरेको कुराकानीअनुसार बैठकमा भारतले नमाने पनि सीमा बन्द गर्न अब ढिलाइ गर्न नहुने जोड दिइएको थियो ।
यसका लागि भारतीय समकक्षीसँग वार्ता गर्ने तथा कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । ती मन्त्रीका अनुसार बैठकमा ज्ञवालीले आफूले भारतीय विदेशमन्त्री एस जयशंकरसँग यो विषयमा कुरा गरिसकेको तर उताबाट जवाफ नआएको समेत बताएका थिए ।
‘अब यो जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको छ,’ ती मन्त्रीले भने, ‘भारतसँग छिटो कुराकानी गरेर यस विषयमा निर्णय लिने भइएको छ ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे देशवासीको नाममा गरेको सम्बोधनलाई कार्यान्वयन गर्न विभिन्न योजना पनि बनाएको छ ।
बैठकमा कोरोनका कारण अर्थतन्त्र र जनजीवनमा परेको असरबारे पनि छलफल भएको छ । अनि यसलाई व्यवस्थापन गर्नका लागि ६ विभिन्न कार्यदल गठन समेत गरिएको छ । यी कार्यदलले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत काम गर्ने बताइएको छ ।
देशमा आपूर्ति सहज बनाउन, औषधिलगायतका अत्यवाश्यक वस्तु खरिद तथा आयात गर्न यी कार्यदलले समन्वय गर्ने बताइएको छ । त्यसका लागि परराष्ट्र, उद्योग तथा अन्य मन्त्रालयहरुसँग आवश्यक सहकार्य गर्ने निष्कर्ष निर्णय गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।