अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनलाई चिठी पठाएको स्वीकार गरेका छन् । यो चिठीमा उनले उत्तर कोरियालाई कोरोना भाइरसविरुद्ध लड्न आफूले सहयोग गर्न तयार रहेको बताएका रहेछन् । उनले उत्तर कोरिया मात्र होइन, इरान र अन्य देशलाई पनि आफूहरु सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘अहिले उत्तर कोरियामा, इरानमा र अरु देशमा जे भइरहेको छ, हामी यस्तो अवस्थामा सहयोग गर्न तयार छौँ,’ उनले भनेका छन्, ‘अहिले यी देशहरु निकै समस्यामा छन् ।’
यसअघि इरानले चाहिँ अमेरिकी सहयोग आफूहरुले नलिने बताइसकेको छ ।
उत्तर कोरियाले यसअघि ट्रम्पले उत्तर कोरियाली नेता किमलाई चिठी पठाएको कुरा खुलाएको थियो ।
‘हाम्रो चेयरम्यानलाई चिठी पठाएर ट्रम्पले जे गरेका छन्, त्यो निकै स्वागतयोग्य छ,’ उत्तर कोरियाली मिडियामा त्यहाँका अधिकारीले भनेका छन्, ‘यसलाई हामी प्रशंसा गर्छौँ ।’ तर, यही विषयमा उत्तर कोरियाली नेता किमले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
गत साता मात्र विश्वमा कोरोना भाइरस संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ । अनि आजसम्ममा १४ हजार ६ सयभन्दा धेरैको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिले विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३६ हजार पुगेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।