कोरोना प्रभावित बिरामीको उद्धारका लागि गृहमन्त्रीको संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन

काठमाडौं– गृह मन्त्रालयले कोरोना प्रभावित वा शंकास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार गरी अस्पताल पुयाउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी कामको सुरुआत गरेको छ।

कोरोना भाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रहेको ‘ज्वाइन्ट अप्रेसन सेन्टर’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त कार्यमा सहयोग गर्न र शंकास्पद बिरामी देखिएमा तुरुन्त खबर गर्न तथा कालोबजारीको सूचनाबारे तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत सरकारले सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र भिडभाड नगरी यात्रा गर्न पनि सरकारले यातायात व्यवसायी र यात्रुलाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यात्रुबाहक सार्वजनिक सवारीधनीले सवारीलाई ‘डिस इन्फेक्सन’ गराउन अनुरोध गरेको छ । 

उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोजी, कालोबजारी गर्ने एवं मिसावट गर्ने गराउनेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेकाले आफूलाई आवश्यक पर्ने परिमाण मात्रै खरिद गर्न भनिएको छ । जारी विज्ञप्तिमा तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन चैत मसान्तसम्म बन्द गर्न पनि भनिएको छ ।

मन्त्रालयले आइतबार साँझ एक विज्ञप्तिमार्फत १९ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना भाइरसको संभावित जोखिमबाट बच्ने कार्यमा हातेमालो गर्न अनुरोधसमेत गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ । 



अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी  प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहोर्याएको छ ।

ज्वरो मापन गर्ने उपकरणको व्यवस्था गरी व्यक्तिको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन सरकारले होटेल, मोटेल, रिसोर्ट, लज, रेष्टुराँ, बार, सपिङमलका सञ्चालकलाई आग्रह गरेको छ । सरकारले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य रुपमा स्वास्थ्य जाँचको व्यवस्था र सुरक्षामा कडाइ गरेको छ । नाकामा अत्यावश्यक काम बाहेक नजानसमेत भनेको छ ।



सरकारले देशैभरिका अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिए पनि संस्था खुला रहेकाले कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको गृह मन्त्रालयले जनाएको छ । उक्त सरकारको निर्णय कार्यान्वयन भए–नभएको बारेमा अनुगमन गरी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको जनाइएको छ ।

  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १४:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया