के तपाईंमा सुँघ्ने र स्वाद क्षमता घटेको छ ? होस गर्नुस् कोरोनाको लक्षण हुन सक्छ

एजेन्सी– संसारभर फैलिरहेको कोरोना भाइरसको औषधि पत्ता लगाउन वैज्ञानिकहरूले सकेका छैनन् । यसका लक्षणमा ज्वरो आउने थकाइ लाग्ने र सुख्खा खोकी लाग्ने भनिएको छ । नेपालमा त अहिले मौसमी रुघाको सिजन नै भएकाले धेरैमा यस्तो लक्षण देखिइरहेको छ र झनै सबै आतंकित बनेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार पछिल्ला अध्ययनले खोकी नलागेका, ज्वरो नआएका र सास फेर्न गाह्रो नभएका मानिस पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने देखाएको छ ।

एक अध्ययनले कोरोेना भाइरस संक्रमणको नयाँ लक्षण फेला परेको छ । त्यो हो, तपाईंको सुँघ्ने र स्वाद थाहा पाउने क्षमता घटेको छ वा हराएको छ भने त्यो कोरोना भाइरसको लक्षण हुन सक्छ ।

कोरोना भाइरस लागेकी आमाले आफ्नो बच्चाको डायपर भरिँदा पनि गन्ध थाहा पाउँदिनन् । रेष्टुरेन्टका कुक जो पहिला सबै खानाको नाम भन्न सक्थे उनी करी र लसुनको स्वाद चाल पाउँदैनन् । कोही घरमा स्याम्पुको बासना पनि थाहा पाउँदैनन् ।

गत शुक्रबार बेलायतका नाक कान घाँटीका एक डाक्टरले संसारभरिका  विभिन्न अनुसन्धानहरूलाई आधार मानेर सुँघ्ने क्षमता गुमाएकालाई कोरोनाको लक्षण नभए पनि सात दिनसम्म छुट्टै बस्न लगाए ।

‘हामी मानिसलाई यो पनि संक्रमणको एउटा लक्षण हुन सक्छ, त्यसैले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता घटेको छ भने सेल्फ आइसोलेसनमा बस्नुस् भनेर सचेत गराउन चाहन्छौँ,’  ब्रिटिस राइनोलोजिकल सोसाइटीकी अध्यक्ष क्लेएर हप्किन्सले भनिन्, ‘यसले कोरोना भाइरसको संक्रमण रोक्न र ज्यान जोगाउनमा सहयोग गर्नेछ ।’



बेलायतका नाक कान घाँटीका डाक्टरले आफ्ना सहकर्मीलाई सुँघ्ने क्षमता गुमाएका बिरामीको उपचार गर्दा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट लगाउन भनेका छन् । किनकि त्यहाँ ती सामानविना बिरामी जाँचेका दुईजना नाक, कान, घाँटी विशेषज्ञ कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिले उनीहरूको अवस्था गम्भीर छ ।

यसअघि कोरोनाको उद्गम थलो चीनको वुहानमा पनि नाक, कान घाँटीमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई धेरै संक्रमण देखिएको थियो । त्यहाँ झन्डै ३ हजार ४ सय स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा परेका थिए ।  



दक्षिण कोरियाका कोरोना संक्रमितहरूले पनि आफ्नो सुँघ्ने क्षमता कमजोर भएको बताएका थिए । कोरियामा गरिएको एक अध्ययनले कोरोना भाइरसबाट संक्रमित २ हजार जनामध्ये ३० प्रतिशतले आफ्नो सुँघ्ने र स्वाद पाउने क्षमता हराएको बताएका थिए ।

अमेरिकन एकेडेमी अफ ओटोलारिन्गोलोजीले आइतबार आफ्नो वेवसाइटमा  स्वाद थाहा पाउने र सुँघ्ने क्षमता हराउनु वा घट्नु कोभिड–१९ को एक लक्षण हुने जानकारी राखेको छ ।

अरू कुनै लक्षण नदेखिएका तर स्वाद र गन्ध थाहा नपाउने बिरामीलाई कोरोना भाइरसको पुष्टि भएको उसको भनाइ छ । रट्जगर विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर र्‍याचेल कईले न्युयोर्कमा कोरोना भाइरस संक्रमित भएका आफ्ना केही साथीहरूले पहिला सुँघ्न थाहा पाउन छोडेको बताइन् ।

कोरोना भाइरसबाट आक्रान्त बनेको इटालीका डाक्टरहरूले पनि अरू कुनै स्वास्थ्य समस्या नभएका मानिसले सुँघ्न र स्वाद थाहा पाउने छोडे भने कोरोना भाइरसको लक्षण हुने निष्कर्ष निकालेका छन् ।

  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १५:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया