काठमाडौं– कोरोना भाइरस सन्त्रासका कारण विश्व नै आतंकित बनेका वेला नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः कमजोर हुन पुगेको हो ।
अमेरिकी डलरको मूल्य भने करिब २ रुपैयाँले बढेको छ । सोमबार १ सय २० रुपैयाँ ६० पैसा रहेको अमेरिकी डलर मंगलबार बढेर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ । भारतीय रुपैयाँको भाय घट्दा त्यसको प्रत्यक्ष असर नेपाललाई पर्छ । नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ ।
डलरको भाउ बढेसँगै नेपालीका लागि विदेशी सामान महँगो हुन पुग्छन् । अर्थविदहरुले अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका छन् ।
डलरको भाउ बढ्दा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई भने फाइदा पुग्छ । उनीहरुले विदेशमा कमाएको पैसा नेपाल पठाउँदा पैसाको परिमाण बढ्न सक्छ ।
अहिले कोरोना भाइरसको त्रास विश्वव्यापी हुँदै जादा लगानीकर्ताहरु डलरमा आकर्षित भएक छन् । सोही कारण डलरको माग बढेर भाउ महँगिएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।