नेपालीले नबुझेको लकडाउनः पाँच बजेपछि बढ्यो चहलपहल !

काठमाडौं– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले अहिले झन्डै पूरै विश्वलाई त्राहिमाम बनाएको छ । विश्वका अधिकांश देशमा कम्तिमा पनि एक जनामा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्र नराम्रोसँग खस्किएको छ । र, अहिले विश्वमा सबैभन्दा बढी चलेको शब्द बनेको छ– लकडाउन ।

चीनले नै सबैभन्दा पहिले वुहानमा कोरोना देखिएपछि सहरलाई लकडाउन गरेको थियो । त्यसो त कोरोना भाइरस संक्रमण रोक्नलाई गरिएको यो लकडाउनको त्यति बेला पश्चिमाले निकै विरोध गरेका थिए । उनीहरुले मानवअधिकारको प्रसंग उठाएका थिए । अमेरिकाले त झन् चीनको खिल्ली उडाएको थियो । 

तर, अब विश्वका जुनसुकै देशले पनि कम्तिमा पनि सिमित स्थानहरु पूर्णरुपमा लकडाउन गरेका छन् । बेलायत, इटाली, स्पेन, इरान होस् या अमेरिका नै किन नहोस्, लकडाउन अहिले सबैभन्दा बढी चल्तीको शब्द भएको छ, कोरोना भाइरससँग जोडिएको छ ।

कतिसम्म भने ब्राजिलका मुख्य सहरहरु पनि लकडाउन भएका छन् जहाँ सरकारले यसरी लकडाउन गर्नु आफ्नो सरकारलाई ढाल्न खोज्नु हो भन्ने आरोप समेत लगाएको छ । 

यो भयो, विश्वको प्रसंग । 

नेपालमा पनि सोमबार सरकारले निर्णय गर्यो– नेपाल लकडाउन गर्ने । एक साताका लागि कोही पनि घरबाट ननिस्किनू भन्ने निर्देशन पनि सरकारले दियो । 



सोमबार नै फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना भाइरस भएको पुष्टि भएको थियो । त्यसपछि सरकारले यो कडा कदम लिएको छ । मंगलबार दिउँसो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जनताले सरकारको निर्णयलाई साथ दिएको भन्दै धन्यवाद समेत पारित गर्यो । 

तर, दिनभर शान्त र प्रभावकारी रुपमा देखिएको लकडाउन नेपालीले साँझ पर्दै गएपछि उल्लंघन गर्दै गएको देख्न सकिन्छ । त्यसो त आज दिउँसो लकडाउनको अवज्ञा गरेको भन्दै विभिन्न जिल्लामा केही मानिसहरुलाई पक्राउ पनि गरियो । 



अनि साँझ पाँच बजेपछि चाहिँ चोक चोकमा नेपालीहरु भेला हुन थालेको दृश्य देखिन थालेको छ । सायद नेपालीहरुले लकडाउनलाई बुझेनन्, नेपालीहरुले सोचे, लकडाउन पनि कुनै पार्टीले आयोजना गरेको नेपाल बन्द हो जुन पाँच बजेपछि खुल्न थाल्छ ।

तर, मंगलबार विहानबाट सुरु गरिएको लकडाउन एक सातासम्म रहन्छ । लकडाउन भनेको साँझ परेपछि घरबाट निस्किएर चोकमा भेला भएर गफ गर्नु होइन भन्ने नेपालीले बुझ्न जरुरी छ । 

  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १८:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया