तीन महिनाअघि ठ्याक्कै नेपालको आजकाे जस्तै स्थिति थियो इटालीको

काठमाडौं– विश्वव्यापी महामारी बनेको कोरोना भाइरस सबैभन्दा पहिले चीनमा देखियो । गत डिसेम्बरमा चीनमा कोरोना भाइरस पहिलो पटक देखिँदा विश्वले अहिलेको स्थिति आउला भन्ने कल्पना पनि गरेको थिएन । 

त्यसैले त चीनले वुहान सहरलाई लकडाउन गर्दा केही व्यक्तिहरुले मानवअधिकारको कुरा उठाएका थिए । तर, चीनले यही प्रक्रियाबाट जित हासिल गरेर देखाएको छ । अब विस्तारै चीनमा कोरोना भाइरस संक्रमित अत्यन्त कम देखिन थालेका छन् । धेरै दिनपछि बुधबार त्यहाँ ४७ जना नयाँ संक्रमित देखिएका छन् । 

चीनले जित हासिल गरे पनि अब विश्वका ठूला शक्ति राष्ट्रहरु कोरोनाविरुद्ध लडिरहेका छन् । अनि दिनहुँ यसबाट मृत्यु हुनेको संख्या बढ्दो छ । देशहरुले लकडाउन गरेका छन्, तर यसबाट कसरी छिटो बाहिर निस्किन सकिएला भन्नेमा अझ अन्योलमा नै छन् ।

नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या तीन पुगिसकेको छ । एकजना निको भएर फर्किएका छन् भने अन्य दुई टेकु अस्पतालमा उपचारमा छन् । यी त नेपालमा अस्पतालमा पुगेका बिरामीको संख्या भयो । कतिपय अधिकारीहरु नै मान्छन् कि नेपाल अझ अनरिपोर्टेड केसहरु अझ धेरै छन् । 

यस्तो हुनुमा केही कारण छन् । केही समयअघिसम्म नेपालमा निर्वाध रुपमा कोरोना संक्रमित मुलुकबाट पनि उडानहरु भएका थिए । 

जे होस्, विश्वका अरु देशको तुलना गर्ने हो भने नेपालमा तीन जनामात्र कोरोना संक्रमित भेटिनु खुसीको कुरा हुनसक्छ । तर, सचेत हुन चाहिँ छोड्नु हुँदैन । किनकि अहिले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको देश इटालीमा पनि तीन महिनाअघि ठ्याक्कै यस्तै थियो । 



चीनमा कोरोना भाइरस देखिएको एक महिनापछि इटालीमा एकजनामा कोरोना भाइरस देखियो । उनी चीनबाट नै फर्किएका थिए । त्यहाँका अधिकारीले यसलाई सामान्य रुपमा लिए । नलिउन् पनि किन ३१ जनवरीपछि दुई साता इटालीमा अरु कोही संक्रमित भेटिएनन् । त्यसपछि एकैपटक १५ फ्रेबुअरीमा त्यहाँ ३ जना नयाँ संक्रमित भेटिए । 

तुलना गर्ने हो भने हामी अहिले ठ्याक्कै यही अवस्थामा छौँ । अहिले नेपालमा पनि ३ जना संक्रमित भेटिएका छन्, एक जनालाई ठिक भइसकेको छ । 



१५ फ्रेबुअरीपछि अलिक सचेत हुन थालेको थियो, इटाली सरकार । त्यहाँ २८ फ्रेबुअरीमा पुग्दा ११ सय २८ जनाभन्दा धेरै संक्रमित देखिए । अनि सरकारले लकडाउन सुरु गर्यो । 

मात्र १३ दिनमा त्यहाँको संक्रमणको संख्या बढेर एक हजारभन्दा बढी पुग्यो । 

२५ मार्चसम्म त त्यहाँ ७० हजार संक्रमित पुगिसकेका छन्, ६ हजार ८ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । 

त्यसैले अझ पनि सचेत नहुने हो भने नेपालको अवस्था अबको केही दिनमा कस्तो होला ? यसमा सरकार र जनता दुवैको जिम्मेवारी चाहिँ उत्तिकै हुनु आवश्यक छ ।

  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १२:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया