कोरोना भाइरसः चीन र इटालीलाई पछाडि पार्दै अमेरिका अगाडि

एजेन्सी– विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमितको संख्यामा अब अमेरिका अगाडि भएको छ । अमेरिकामा शुक्रबार विहान कोरोना संक्रमितको संख्या ८३५०० पुगेको छ । 

यो अहिलेसम्म कुनै पनि देशमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ८१७८२ र इटालीमा ८०५८९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको संख्या धेरै भए पनि कोरोनाकै कारण ज्यान गुमाउने संख्या चाहिँ इटालीको धेरै छ । त्यसपछि चीनको छ । अमेरिकामा अहिलेसम्म १२०० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटालीमा यो संख्या ८२१५ पुगेको छ । तर, कोरोनाको उद्गम मानिएको चीनमा यसका कारण ३२९१ जनाले मात्र ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोनाका नयाँ संक्रमित भेटिने क्रम घट्दो छ ।

कोरोना संक्रमित बढ्दै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब छिट्टै देश पुरानै लयमा फर्किने बताउँदै आएका छन् । उनले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित पार्ने भएकाले अहिले तत्काल लकडाउन नगर्ने पनि बताउँदै आएका छन् ।

अमेरिकाको समयअनुसार बिहिबार साँझ यो नयाँ संक्रमितको संख्याबारे पत्रकारहरुले राखेको प्रश्नमा ट्रम्पले आफूहरुले परीक्षण धेरै गरेकाले धेरैमा कोरोना भाइरस देखिएको बताएका छन् । यतिमात्र होइन, उनले चीनको एकिन संख्या थाहा नभएकाले अमेरिकी संख्या धेरै देखिएको हुनसक्ने आशंका पनि गरेका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चाहिँ अब अमेरिकाका सबै ५० प्रान्तमा कोरोना परीक्षण गर्न सकिने बताएका छन् ।



उता, अमेरिकी अस्पतालहरुमा अहिले थेग्न सक्नेभन्दा धेरै बिरामी भएको रिपोर्ट आइरहेका छन् । न्युयोर्कका मेयर एन्ड्र्यु क्योमोले यसअघि नै न्युयोर्कमा कोरोना बुलेट ट्रेनभन्दा छिटो विस्तार भइरहेको प्रतिक्रिया दिएका थिए ।



  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार ७:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया