नेपालमा उपचार गराइरहेका काेराेना संक्रमितकाे अवस्था कस्ताे छ ?

काठमाडाैं– कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर उपचारमा रहेका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारले जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित दुवैको स्वास्थ्य राम्रो रहेको जानकारी दिए । नेपालमा हालसम्म तीनजनामा कोरोना संक्रमण पुष्टि भएकोमा एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

१२ माघयता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय दुईजना शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिएको छ । परीक्षण दायरा फराकिलो बनाउन सरकारले धरान र नेपालगञ्जमा पनि तत्काल परीक्षण सुरु गर्ने भएको छ । प्रवक्ता देवकोटाले टेकु अस्पतालमा चार, पाटनमा ६ र कान्ति बाल अस्पतालमा तीन गरी हाल उपत्यकामा १३ जना आइसोलेसनमा रहेको बताए । उपत्यकाबाहिर पनि केही संख्या भएको, तर रिपोर्ट आइनसकेको उनको भनाइ छ ।

सरकारले टेकु, पाटन र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कोरोना शंकास्पदको जाँच र पोजेटिभ देखिए उपचार गर्ने व्यवस्था मिलाएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामी भए अस्पतालनजिकैको होटेल वा साना अस्पताल खाली गराएर राख्ने व्यवस्था मिलाउने पनि प्रवक्ता देवकोटाले बताए । सरकारले हरेक अस्पताललाई पाँच सेट पिपिई दिएको छ ।

६ बुँदे परीक्षण मापदण्ड तयार
सरकारले कोरोना शंकास्पदको परीक्षणका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जथाभावी पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) माग भएको भन्दै मन्त्रालयले मापदण्ड बनाएको हो । नमुना लिने व्यक्तिले एन ९५ मास्क, चस्मा, पन्जा, गाउन र क्याप लगाउनुपर्नेछ । बिरामी जाँच गर्दा सर्जिकल मास्क, चस्मा, पन्जा, पानी छेक्ने गाउन र क्याप लगाउनुपर्नेछ । ज्वरो आएका बिरामी जाँच्दा सर्जिकल मास्क, चस्मा, पन्जा, पानी छेक्ने गाउन र क्याप लगाउनुपर्नेछ ।

त्यसैगरी स्क्रिनिङ टेस्ट गर्दा एक मिटरभन्दा नजिक भए मात्रै मास्क लगाउनुपर्नेछ । एक मिटरभन्दा टाढा रहे आवश्यक रहनेछैन । एम्बुलेन्सचालकले सर्जिकल मास्क र पन्जा लगाउनुपर्नेछ । प्रयोगशालामा परीक्षण गर्ने व्यक्तिको हकमा सर्जिकल मास्क, चस्मा, पन्जा, गाउन र क्याप प्रयोग गर्नुपर्नेछ । कोरोना प्रभावित अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीले भने कुनै पनि प्रकारको पिपिई लगाउनुपर्ने छैन ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १९:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया