सरकारले लकडाउन लम्ब्याउने निर्णय आज गर्न सक्ने

कोरोना भाइरस संक्रमणलाई रोक्न सरकारले गत मंगलबारबाट एक साताका लागि लकडाउनको निर्णय गरेको थियो । अहिले पनि कोरोना संक्रमण फैलिने उत्तिकै सम्भावना भएकाले सरकारले यसलाई लम्ब्याउने तयारी गरेको छ । 

नेपालले लकडाउन घोषणा गरेको भोलिपल्टै भारतले पनि तीन साता लामो लकडाउन घोषणा गरेको छ । नेपालमा कम्तिमा पनि भारतमा लकडाउन भएसम्म लकडाउन गर्ने तयारीमा सरकार रहेको छ ।

यसबारे सरकारकाे निर्णय आज आउन सक्ने अनुमान गरिएकाे छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले फरकधारलाई दिएको जानकारी अनुसार अहिले नै नेपाली समाजमा ढुक्क हुने अवस्था नआइसकेकाले लकडाउन खोल्न सकिने वातावरण नभएको बताएका छन् । 

 

सरकारले ११ चैतदेखि लागु हुने गरि १८ गते विहानसम्मका लागि एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । नेपालले लकडाउन घोषणा गरेलगत्तै भारतले २१ दिने लकडाउनको घोषणा गरेपछि नेपाल पनि यसलाई लम्ब्याउने पक्षमा भएको ती सदस्यले जानकारी दिए । 



तर, यसबीचमा सुरक्षा तथा दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापन गर्नका लागि सुरक्षा संयन्त्र, उद्योगी तथा व्यवसायीहरुलाई भनिएको छ । 

‘भारतको अवस्था हेर्दा हामीले पनि लकडाउनलाई लम्ब्याउन पर्ने देखिन्छ,’ ती सदस्यले फरकधारसँग टेलिफोनमा कुराकानी गर्दै भने, ‘यो सरकारले कोरोना सन्त्रास नेपाल नभित्रिन गरेको उपाय हो, यसमा नागरिकको पनि सहयोग सरकारले अपेक्षा गरेको छ ।’



नेपालमा चार जना कोरोना संक्रमित भेटिएसँगै सरकार यसबारे थप चनाखो बनेको पनि उनले बताए । ‘उहाँहरु आएको विमानबाट आएका अन्य व्यक्ति र उनीहरुको परिवारलाई पनि ट्र्याक गर्ने, काठमाडौं ल्याएर परीक्षण गर्ने र आइसोलेसनमा बस्न भनिइसकिएको छ,’ ती सदस्यले भने, ‘अब यो सम्पूर्ण कार्य सकिँदासम्म र नेपालमा कोरोना संक्रमित छैनन् भन्ने ढुक्क हुने वातावरण नबन्दासम्म लकडाउनलाई यथावत् राख्नै पर्छ ।’

अर्कोतिर, भारतीय सीमा बन्द गरिसकेपछि नेपाल भित्रिएका पाँच लाखभन्दा धेरै नेपाली नागरिकको विषयमा पनि सरकारले अनुगमन गरेर स्थानीय तहमार्फत् क्वारेन्टाइनको व्यवस्थापन गर्न थाल्ने जनाइएको छ ।

‘यसको व्यवस्थापनका लागि र निर्धक्क बन्ने वातावरण बनोस् भन्नका लागि पनि लकडाउनको अवधि थपिन्छ,’ ती सदस्यले भने, ‘तर, लकडाउन थपिने भनेको नागकिरकले दैनिक उपभोग्य वस्तु नपाउने भन्ने होइन, नागरिकलाई दुःख नहोस् भन्नका लागि पनि हामी तम्तयार छौँ, यसको व्यवस्थापनमा लागिरहेका छौँ ।’

  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार ६:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया