सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बनाएको कोषमा पूर्वराजपरिवारले दुई करोड सहयोग गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार पनि सदस्य रहेको हिमानी कोषमार्फत् यो रकम सहयोग गर्न लागिएको हो ।
मंगलबार एक विज्ञप्ति निकाल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यो महामारीमा सरकारले ल्याएका निर्देशन पालना गर्न पनि नेपालीहरुलाई अनुरो गरेका छन् । विज्ञप्तिमा लकडाउन अनिवार्य आवश्यकता भएकाले यसमा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको पूर्वराजाले उल्लेख गरेका छन् ।
उनले यस्तो महामारीमा पनि ज्यानको पर्वाह नगरेका सुरक्षाकर्मी, चिकित्सक तथा नर्स र मेडिकलकर्मीहरुलाई आभार पनि प्रकट गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ–
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश:
विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भै सकेको छ ।
यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।
महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।
आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं ।
राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ । दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।
भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,
जय नेपाल।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।