भारतमा रेनकाेट लगाएर स्वास्थ्यकर्मी बिरामीकाे सेवामा

नयाँदिल्ली — भारतमा पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) अभाव भएपछि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सकले प्लास्टिक, रेनकोट तथा हेल्मेट लगाउन बाध्य भएका छन् । 

पीपीई अभावमा प्लास्टिकको च्यातिएको रेनकोट लगाएका भारतको कोलकतास्थित बेलियाघाटा आईडी अस्पतालका चिकित्सक : तस्बिर रोयटर्स 

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मीलाई पीपीईलगायत सुरक्षा सामग्रीको अभाव भएको गत साता स्वीकार गर्दै आवश्यक सामग्री दक्षिण कोरिया र चीनबाट तत्काल ल्याउने बताएका थिए। तर अझैसम्म पनि दर्जनौं चिकित्सक सुरक्षित मास्क तथा पीपीईबिना नै कोभिड–१९ का बिरामीको उपचारमा अग्रपंतिमा खटिएका छन्।

कोलकताको बेलियाघाटा आईडी अस्पतालमा कोरोना उपचारमा खटाइएका डाक्टरहरूले आफूहरूलाई प्लास्टिकका रेनकोट दिइएको जनाएका छन्। उपचारका क्रममा उनीहरुले ती रेनकोट लगाएका तस्बिरहरू समेत सार्वजनिक भएका छन्।

कतिपय चिकित्सकहरूले यस्तो अवस्थामा आफूहरूले काम गर्न नसक्ने बताए। एक चिकित्सकले भने, ‘हामी ज्यानको बाजी लगाएर काम गर्न सक्दैनौं।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.आशिश मन्नाले भने यसबारे कुनै प्रतिक्रिया दिएनन्।

त्यसैगरी, हरियाणाको इएसआइ अस्पतालका चिकित्सक सन्दिप गार्गले आफूसँग एन–९५ मास्क नभएकाले हेल्मेट लगाउने गरेको बताए। उनले भने, ‘मैले सर्जिकल मास्क र हेलमेट लगाउने गरेको छु। यसको भाइजरले मेरो अनुहार पनि छेक्छ।’



विश्व स्वास्थ्य संगठन (डब्लूटिओ) का अनुसार कोभिड–१९ संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकले अनिवार्य रुपमा पीपीई लगाउनुपर्छ। यसबारे आफ्नो प्रश्नमा भारतीय स्वास्थ्य मन्त्रालयले कुनै जवाफ नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

भारतमा कोभिड–१९ संक्रमितको संख्या १ हजार २ नाघिसकेको छ। हालसम्म ३२ जनाले ज्यान गुमाएका छन्। मे महिनाको मध्यसम्ममा भारतमा एक लाखभन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमण हुने एक अध्ययनले दाबी गरेको छ।



  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १०:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया