कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरससँग जुध्न सरकारले गरेका सबै रणनीतिलाई सहयोग गर्न कांग्रेस तयार रहेको बताएका छन् । कांग्रेस पुरानो र अनुभवी दल भएको उल्लेख गर्दै सभापति देउवाले कोरोनाको चुनौतीलाई सामना गर्न सरकारलाई हरतरहले सहयोग गर्न तयार रहने प्रतिबद्धता जनाएका हुन् ।
‘यो हामी सबैको साझा संघर्ष हो,’ मंगलबार देउवाले विज्ञप्ति जारी गरी भनेका छन्, ‘अतः सरकारमा सँगै नरहेर पनि यस्तो अभियानमा सँगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढंगले प्रतिबद्ध छौँ ।’ उनले लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन अपिल गर्दै ११ बुँदामा ध्यानाकर्षण गराएका छन् ।
हालसम्मको आफ्नो कार्य प्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर प्रभावकारी रूपमा गति बढाउन, आयातपश्चात् पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई)लगायत अत्यावश्यक सामग्री कैयौँ ठाउँमा नपुगेको विवरण प्राप्त भएकाले तत्काल सामग्री पुर्याउन देउवाले सरकारसँग अपिल गरेका छन् ।
स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने बताउँदै देउवाले नेपालभरका स्वास्थ्यकर्मीप्रति सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे जनाएका छन् । सरकारले घोषणा गरेको आर्थिक प्याकेज एक हदसम्म सकारात्मक भएको जनाउँदै ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र नपुग्ने र सबै खाले व्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकूलतामा राहत अनुभूति गराउनुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।