ओखलढुङ्गामा नयाँ मान्छेलाई प्रवेश निषेध

ओखलढुंगाको कुन्तादेवीका स्थानीयले कोरोना भाइरस रोकथामका लागि भन्दै गाउँमा नयाँ व्यक्ति र सवारी आवागमनमा रोक लगाएका छन् । मोलुङ गाउँपालिका– १ का स्थानीय युवाले गाउँ प्रवेश गर्ने सडकमा बाँसको बार लगाएर सबैखाले सवारी र नयाँ मानिसलाई प्रवेशमा रोक लगाएका हुन् ।

बाहिरबाट आउने मानिसको आवतजावत बढी हुने क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाइएको स्थानीय युवा कमल बानियाँले बताए । उनका अनुसार ओखलढुंगा–रामपुर सडकखण्डको कुन्तादेवीस्थित जिरो पाेइन्टमा गेट निर्माण गरी कुन्तादेवी हुँदै सुनकोसी– १० कटुञ्जेतर्फ जाने सवारीसाधनलाई प्रवेश निषेध गरिएको हो ।

‘बाहिरबाट आउने मान्छेका कारण गाउँ जोखिममा परेकाले सडक नै अवरुद्ध गरेका छौँ । सरकारले लकडाउन गरेका वेला हामीले पनि हाम्रो सुरक्षाका लागि यो विधि अपनायौँ,’ बानियाँले भने, ‘गाउँका मान्छेलाई पनि जता हुनुहुन्छ त्यतै सुरक्षित बस्न आग्रह गरेका छौँ । हिँडडुल बढी गर्दा आफूलाई पनि जोखिम, गाउँमा पनि त्रास ।’ जिल्ला प्रशासनको पास लिएर आएका अत्यावश्यकीय यात्राका सवारीबाहेक अन्य यात्रुवाहक वा मालवाहक सवारी गाउँमा प्रवेश गर्न नदिन युवाहरु एक भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सतर्कताका लागि अपनाइएको विकल्प यो वेला ठीक भए पनि अत्यावश्यकीय सवारीसाधनलाई नरोक्न सुझाब दिए । देश लकडाउनमा परेको समयमा कुन्तादेवीका युवाले सडक अवरुद्ध गर्नुलाई जनता कर्फ्युको संज्ञा दिँदै आचार्यले सामान्यबाहेक जरुरी अवस्थामा आवतजावत नरोक्न सुझाश दिए । ‘यो जनता कर्फ्यु हो । मान्दिनँ भन्न मिल्दैन, तर एम्बुलेन्ससहितका अत्यावश्यक साधन नरोक्न अनुरोध छ,’ आचार्यले भने ।

युवाहरूले निर्माण गरेको गेट र सवारीको प्रवेश निषेधलाई इलाका प्रहरी कार्यालय रामपुर र मोलुङ गाउँपालिकाले समेत समर्थन गरेका छन् ।

जिल्लाको सुनकोसी गाउँपालिका– ५ मूलखर्कमा पनि अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सवारी पास नभई आएका सवारी नियन्त्रणमा लिन थालिएको वडाध्यक्ष गोविन्दराम तामाङले जानकारी दिए । मूलखर्कमा सरकारको निर्देशन अवज्ञा गरेर चलाइएका सवारी रोक्ने निर्णय गरिएको छ ।



मानेभञ्ज्याङ गाउँपालिका– ५ मा पनि स्थानीयले नयाँ मानिसलाई गाउँ प्रवेशमा रोक लगाएका छन् ।



  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार ०:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया