देश बचाउन चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री ओलीलाई कांग्रेसको ‘प्रेम पत्र’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रेम पत्र’ पठाएर कोरोना भाइरस संक्रमणबाट देश बचाउन चाल्नुपर्ने कदमका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख शर्माले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रेम पत्र’ पठाएर कोरोना भाइरस संक्रमणबाट देश बचाउन चाल्नुपर्ने कदमबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

यस्तो छ प्रेम पत्र

प्रधानमन्त्रीलाई प्रतिपक्षी प्रवक्ताको प्रेमपत्र
‘समाधान कोरौं समाधि नखनौं’
सम्माननीय प्रधानमन्त्रीज्यू,

सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै शीध्र स्वास्थलाभ कामना गर्दछु ।  

विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसँग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र ‘सरकारमा संगै नरहेर पनि संगै लड्न सकिन्छ’ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल,संस्था र समुदायलाई अपिल गरिरहेका छौं ।



प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको म प्रस्ट्याउन चाहन्छु । ढिलासुस्ती, लापरवाही,अनियमितता र भ्रष्टाचारलाईपनि समर्थन गर्नु चाहीँ होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर,तिनको निदान खोज्न घच्घच्याएर फेरिपनी सघाउनु संकटमुक्ति प्रतिको इमानदारीता हो ।

हाम्रो आग्रह छ यो प्रकरणमा चीनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिउँ। हामी थप चुक्यौं भने भीषण स्थिति ब्यहोर्ने छौं,सही ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं । थोकमा मृत्यु हेर्ने कि एक–एकलाई जोगाउने ? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा  गम्भीर प्रश्न बन्न पुगेको छ ।



प्रधानमन्त्रीज्यू,
उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले यथाशक्य प्रयत्न निश्चयनै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं तर यस्तो संकटको घडी हरेक कदमको समीक्षा हरेक दिन गर्न एवं विज्ञ र आफू बाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छ । हाम्रो आग्रह छ लक डाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरौं,कमजोरी अन्त्य गरौं र अब पछिल्लो कदम निकै ब्यवस्थित र प्रभावकारी ढंगले अघि बढाऔं । यो संक्षिप्त पत्रमा पृष्ठभूमिदेखि समग्र विश्लेषणमा म जान चाहन्न । तत्कालीन परिस्थिति,प्रश्न र चुनौती बारे आम नेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।

समिक्षा १ : 

परिक्षण र उपचारमा गम्भीर लापरवाही

१) परीक्षण,परीक्षण र परीक्षणका लागि विश्व स्वास्थ संगठनले जोड दिएको छ । तर अझैपनि साथ प्रदेशको कम्तिमा सात ठाउँमा परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरिएको छैन । संक्रमण फैलनबाट रोक्न परीक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने विषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापूर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ ।

२) हालसम्म पाँच नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ्य भएर फर्किए भने चार उपचाररत छन् । तर उनीहरुको परिवारका सदस्यको परिक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतिक्षा गरेको छ । उनीहरुसँगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य नागरिकको खोजबिन शुरु गरियो तर परिक्षणको दायरामा ल्याइएको छैन । समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो विषयको गम्भीरता पुगेको छ कि छैन ?

३) यसबीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो,मृत्यु पश्चात् मात्रै परीक्षणको रिपोर्ट आयो । बुटवलको एक अस्पतालमा लास उठेन,बिराटनगरमा चार अस्पताल दौडाउँदा दौडाउँदै एक महिलाको मृत्युु भयो । कोरोनाबाहेक अन्य रोगलेपनि मृत्यु हुन्छ,तर सुरक्ष्ीित रुपले परीक्षण गर्न पीपीई नपाउँदा कयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन् । प्रधानमन्त्रीकै जिल्लामा चार बर्षे बालकको ज्वरो जचाँउन जाँदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी भएको छ ।

४) यसीचमा विदेशबाट जति नेपाली आए,ती मध्ये थोरै मात्र क्वारेन्टाइनमा छन् । बांकी कहाँ छन् सरकारसँग तथ्यांकसम्म  छैन । क्वारेन्टाइन, परीक्षण र उपचारको ब्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।

समिक्षा २
लज्जास्पद अभाव र अनियमितताको प्रश्न !

५) कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वब्यापी भएको चार महिना पुगिसक्दापनि पीपिई,परीक्षण कीट,भेन्टिलेटरलगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियोे । यो प्रकरणको चार गल्ति क्रमशः स्मरण गराउन चाहन्छु ।

क) समयमै सामग्री आयातको योजना,तयारी र प्रक्रिया नथाल्नु ।
ख) लक डाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु ।
ग) बजार मूल्यभन्दा अत्याधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनु ।
घ) विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हरसम्भव साथ दिन तत्पर रहेका छौं । सरकार,प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रति नागरिकको असन्तोषलाई न्यून गर्ने अवसरपनि हो । तर नागरिक पंक्तिबाट जब ‘कात्रोमा पनि कमिसन ?’ भनेर प्रश्न आउँछ,तब हामी नाजवाफ बन्छौं । प्रधानमन्त्रीज्यू समक्ष दुई विकल्प रहेकोे म सुझाउन चाहन्छु । एक,ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने,दुई सिंगो देशको आग्रह सुनेर निश्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई  सघाउने ।

समिक्षा ३ 

राहत अपर्याप्त,प्याकेजमा उदार बनौं !

६) सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं । प्रधानमन्त्रीज्यू हरेक बर्ष असार मसान्तमा हामीले फ्रीज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं,यसपालि त्यो नछरौं । अहिले नागरिक जोगाऔं,पछि पुल हालौंला,बाटो बनाऔंला । ज्यालादारी श्रमिककोमा राहत पु¥याउने तीब्रतामा ध्यान पुगोस् । रोजगार कार्यक्रमका नाममा अघिल्लो बर्ष पानी बगायौं हामीले ,अहिले बेरोजगार एवं सहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजना तर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ?

७) तेर्हेयाउन चाहन्छौं ब्यवसायीहरुको बैंक ब्याज घटाएर राहत अनुभूति गराउन सरकार किन गम्भीर नभएको ? प्रधानमन्त्रीज्युको निर्देशन सम्बन्धित मन्त्रालयलाई  जाओस् ।

२० लाखसम्म ऋण लिएका साना ब्यवसायीको हकमा तीन महिनासम्मको ब्याज समेत मिनाहा गरियोस् । आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यू।

८) छापा माध्यम क्रमशः बन्द हुंदैछन् । ब्यवसाय चौपट भएपछि रेडियो,टीभी र अनलाइनपनि बिज्ञापन न्यूनता हुँदै शून्यताको मारमा पर्नेछन् ।श्रमजीवी पत्रकारको चुल्हो क्रमशः लक्ड हुन सक्छ लक डाउन लम्बिए । राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुप¥यो प्रधानमन्त्रीज्यू। अनि काठमाण्डौं प्रेसमाथि प्रधानमन्त्रीकै निकटटस्थको साइबर अपराधलाई अनुसन्धान र कारबाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु ।

समिक्षा ४ 

नेपाली डायस्पोरा बारे सोचौं

९) नेपाल बाहिरपनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यू, ४० लाखको संख्यामा फैलिएको । हिजो निरन्तर रेमिटेन्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन ।

क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट । परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्न । सोचौं,परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौं ।

ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यू उनीहरु हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए, दशैंमा आउन कतिले सकेनन्,कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् । अलिअघिसम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं,आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई ब्यवस्थित रुपले प्रवेश गराउने दायित्व देशको हो । संकटमा परदेशीलाई त सेवा पुयाउनु पर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनुभन्दा ठूलो अन्याय के हुन सक्दछ । अत्यन्तै कारुणीक यो यथार्थप्रति प्रधानमन्त्रीज्यूको गम्भीर  ध्यानाकर्षण गराउँदछु ।

हामी फेरिपनि यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ । जय नेपाल ! 

  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १८:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया