कोरोना भाइरसः सरकारले जारी गरेको एउटा अफवाह– आयुर्वेदिक औषधी !
प्रतिकात्मक तस्वीर

काठमाडौं– विश्व अहिले गत डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा भेटिएको कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । यो समयमा विभिन्न देशहरु यो भाइरसको रोकथामका लागि लागिरहेका छन् । 

यहीबीच यसबाट बच्न अनेक उपायहरु सिफारिस गरिएका पोस्टहरु सामाजिक सन्जालमा देखिएका छन् । विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थालाई प्यान्डेमिक भनिसकेको छ । अनि यही समयमा अर्को शब्द पनि क्वाइन भएको छ– इन्फोडेमिक अर्थात् सूचना संक्रमण । यसको अर्थ हो, अहिले यो भाइरसको महामारीको समयलाई लिएर अनेक गलत सूचना पनि फैलिइरहेका छन् ।

आम विश्वास छ, यस्ता सूचना कम्तिमा पनि सरकारी विभागहरुबाट नै चाहिँ फैलिँदैनन् । 

तर, नेपालको सन्दर्भमा त्यस्तो रहेन ।

किनकि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा  वैकल्पिक चिकित्सा विभागले जारी गरेको एउटा सूचना अहिले सामाजिक सन्जालमा निकै फैलिएको छ । 

जनहितमा जारी सन्देश भनिएको यो सूचनामा विभिन्न आयुर्वेदिक औषधिको नाम दिइएको छ र त्यसलाई सेवन गर्ने तरिका पनि दिइएको छ । (हेर्नुस् तलको तस्वीर ।) अनि भनिएको छ– यी औषधी प्रयोग गरे कोरोना भाइरसबाट बच्न सकिन्छ । 



तर, यो गलत हो । यो अफवाह हो । यसअघि भारतमा पनि वैकल्पिक उपचार विभागले यस्तै सूचना जारी गरेको थियो । त्यहाँ निकै आलोचना भएपछि विभागले त्यो सूचनालाई फिर्ता लिएको थियो । 

अहिलेसम्म विश्वमा कसैले पनि आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिबाट कोरोना भाइरसको उपचार वा रोकथाम हुनसक्ने निष्कर्ष निकालेका छैनन् । अनि यो रोग प्रतिरोधात्मक क्षमता राम्रो भएका मानिसलाई लाग्दैन भनेर पनि वैज्ञानिक पुष्टि भएको छैन । त्यस्तो हुन्थ्यो भने, विश्वमा यही भाइरसका कारण रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा राम्रो भएका खेलाडीहरुलाई समेत आक्रान्त पार्ने थिएन । 



यसअघि यस्तै भ्रम भारतमा फैलिएको थियो । भारतमा यो भ्रम फैलिनुको कारण चाहिँ भारतीय मन्त्रालय आयुषले २९ जनवरीमा सार्वजनिक गरेको एउटा प्रेस विज्ञप्ति हो जसमा लेखिएको थियो– कोरोना भाइरस संक्रमणको लक्षण रोक्नका लागि होमियोप्याथी चिकित्सा उपयोगी हुन्छ । त्यो प्रेस विज्ञप्तिमा आर्सेनिकम एल्बम ३० दबाई खान पनि सल्लाह दिइएको थियो ।

होमियोप्याथिक सिद्धान्तअनुसार यदि अत्यधिक पानीसँग केही पनि खानेकुरा पेटमा पुग्दा त्यसले मानिसको मेमोरीलाई शरीरको रोग प्रतिरक्षा प्रक्रिया सुरु गर्न सहयोग गर्छ । भारतको मन्त्रालयले निकालेको यो प्रेस विज्ञप्तिमा यही कुरा उल्लेख गरिएको थियो । 

तर, अहिले आएर भारतीय मन्त्रालयले आफ्नो विज्ञप्तिलाई सच्चाएको छ । उसले आफूहरुले सामान्य रुपमा त्यसलाई अगाडि ल्याएको तर त्यसले नै कोरोना ठिक पार्ने दाबी नगरिएको बताएको छ । 

अर्कोतिर, यस्तो पद्धतिबाट अहिलेसम्म यो रोग ठिक हुने कुनै वैज्ञानिक आधार भेटिएको छैन । त्यसैले पनि कोरोनालाई वैकल्पिक उपचार विधिबाट ठिक गर्न सकिन्छ भनेर गरिएको प्रचार भ्रममात्र हो ।
 

  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ०:५९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया