बाँकेका सीमा अलपत्र नेपालीलाई अस्थायी क्वारेन्टाइनमा राखियाे

बाँकेका विभिन्न सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई बिहीबार ‘अस्थायी क्वारेन्टाइन’मा राखिएको छ। बाँके प्रशासनले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा एक साता अघिदेखि आवत–जावतमा पुर्णरुपले रोक लगाएको थियो।

नेपालगन्ज नाकामा रोक लगाएपछि विभिन्न अबैध नाकाबाट नेपाल प्रवेश हुन खोजेका उनीहरुलाई फर्काएर भारतीय क्वारेन्टाइनमा लैजाने प्रयास असफल भएपछि जयसपुरस्थित नेपाल–भारत सिमा नाका दसगजा छेउमै अस्थायी क्वारेन्टाइन स्थापना गरेर राखिएको हो।
 
जिल्लाको जयसपुर, हिरमिनिया, साईगाउँ लगायत अबैध नाकाबाट प्रवेश हुन खोजेका एक १ सय ८१ जनालाई चारदिन पछि बिहीबार दिउँसोबाट अस्थायी क्वारेन्टाइनमा राखिएको हो। यि मध्ये अशक्त, महिला र बालबालिका गरी ९ जनालाई भने यसअघि नै स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनामा राखिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार नेपाली सेनाले उपलब्ध गराएको टेन्टबाट ४५ वटा ‘अस्थायी घर’ निर्माण गरिएको छ। अलपत्र नेपाली नागरिकले भारतको क्वारेन्टाइनमा नबस्ने अडान लिएपछि स्थानीय प्रशासनको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले एकैदिनमा क्वारेन्टाइन तयार गरेका हुन्। ‘क्वारेन्टाइन निर्माण भएर पनि सिमामा रहेका नेपालीलाई ल्याएर राखिसक्यौं,’ प्रजिअ खड्काले नागरिकसँग भने ‘उनीहरु लकडाउन अवधिभर त बस्छन् नै, कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नेछन्।’ एउटा घरमा ३ देखी ४ जनासम्म बस्ने मिल्ने गरी ब्यवस्थापन गरिएको उनले बताए।

स्थानीय प्रशासनले तयार गरेको अस्थायी क्वारेन्टाइनमा बस्ने ब्यक्तिको सम्पुर्ण ब्यवस्थापन गर्ने जिम्मा नेपालगन्ज उपमहानगरपालिकाले लिएको छ। नगर उपप्रमुख उमा थापामगरले दसगजा छेउमै अस्थायी क्वारेन्टाइन निर्माण भएपछि ब्यवस्थापकीय पक्ष हेर्ने जिम्मेवारी उपमहानगरपालिकाले लिएको बताइन्। ‘नेपाली सेनाले उपलब्ध गराएको टेन्टबाट अस्थायी क्वारेन्टाइन बनेको छ, क्वारेन्टाइन बनेपछि अलपत्र नेपालीहरु अब ब्यवस्थित रुपले बस्न पाएका छन्,’ उनले भनिन् ‘हामीले अब क्वारेन्टाइनको लागि ब्यवस्थापकिय पक्षलाई हेर्नेछौं।’ उनीहरुको दैनिक खानपिन, शौचालयको ब्यवस्था, स्वास्थ्य जाँच लगायत ब्यवस्थापकीय पक्ष हेर्ने उपप्रमुख थापाले बताइन्। ‘टेन्टभित्र बिछ्याउने म्याट, कम्बल र झुल छ, केही चाहियो भने हामीले पनि ब्यवस्थापन गरौंला,’ उनले थपिन्।

नेपालगन्ज नाकाबाट आवत–जावत गर्न नदिने सरकारको निर्णय पश्चात भारतबाट फर्केका नेपालीहरु जिल्लाका अन्य अबैध नाकाबाट धमाधम प्रवेश हुन थालेका थिए। त्यसरी प्रवेश भएका मध्ये केहीलाई नेपाली सुरक्षाकर्मीले विभिन्न ठाउँमा रोके। ती नाकाबाट ल्याइएका उनीहरुलाई जमुनाहा–रुपैडिहा हुँदै भारतीय क्वारेन्टाइनमा राख्न बुधबार राती ११ बजेसम्म नेपाल र भारतका अधिकारीले गरेको प्रयास असफल भएको थियो। स्थानीयका अनुसार नेपालगन्ज नाकामा रोक लगाएपछि जिल्लाको नरैनापुर, डुडुवा जानकी गाउँपालिका अन्तर्गत रहेका नाकाबाट केही ब्यक्ति अबैध रुपमा प्रवेश भएर पनि घर फर्किसकेका छन्।

नेपाल प्रवेश भएका केहीलाई भने नरैनापुर, डुडुवा र खजुरा गाउँपालिकाले आफ्नो क्वारेन्टाइनमा राखेका छन्। नरैनापुरमा अहिलेसम्म १ सय ३२, खजुराको राधापुरमा ४२ र डुडुवामा २५  जना बसेका छन्। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भारतबाट आएका ब्यक्तिलाई नियम अनुसार क्वारेन्टाइन राखेर सम्पुर्ण ब्यवस्थापन गरिएको बताए। खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले राधापुरको मैटहवा मावि क्वारेन्टाइनमा आउने र जाने क्रम चलिरहेको बताए। डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भारतबाट प्रवेश भएका ब्यक्तिलाई क्वारेन्टाइनमा राखेर खानपिनसहित आवश्यक स्वास्थ्य जाँचको ब्यवस्था मिलाइएको बताए। याे समाचार नागरिक दैनिकमा प्रकाशित छ ।



नेपालगन्ज नाकाबाट सहज रुपमा प्रवेश गर्न नपाएपछि भारतबाट फर्किने नेपाली स्वभाविक रुपले अबैध नाकाबाट प्रवेश गर्न थालेको सुरक्षा अधिकारी बताउँछन्। ‘नेपालगन्ज नाकाबाट प्रवेशमा रोक लगाउने माथीबाटै आदेश छ,’ एक सुरक्षा अधिकारीले भने ‘यहाँबाट प्रवेश हुन नपाएपछि अबैध नाकाबाट प्रवेश गर्न खोजिरहेका छन्।’ भारतबाट कोरोना संक्रमित भित्रिन सक्ने भन्दै नेपालगन्ज नाकाबाट प्रवेशमा रोक लगाउनु एक हिसाबले ठिक भएपनि अबैध नाकाबाट नेपाली नागरिक भित्रिनुले झन् ठुलो समस्या ल्याउन सक्ने सुरक्षा अधिकारीको चिन्ता छ।



  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ५:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया