राप्रपा अध्यक्ष राणाको सुझाब– कोरोना महामारीविरुद्ध सर्वदलीय संयन्त्र बनाऔँ, बिरामी फिर्ता पठाउने निजी अस्पताललाई कारबाही गर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले कोरोना महामारीविरुद्धको लडाइँमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने बताएका छन् ।

आइतबार ट्विट गर्दै उनले बन्दाबन्दीको चरणलाई अन्तिम सफलताको रुपमा परिभाषित गरे गम्भीर भुल हुने उल्लेख गर्दै दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै परीक्षणको क्रम व्यापक बनाउनुपर्ने सुझाब दिएका छन् ।

‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भुल हुनेछ,’ उनले भनेका छन्, ‘पूर्वतयारी गरौँ, परीक्षण व्यापक बनाऔँ । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।’

मातृभूमि फिर्ता आएका धेरैले स्वास्थ्य प्रोटोकल पूरा नगर्दाको जोखिमतर्फ ध्यानाकर्षण गराउँदै उनले दुर्गम क्षेत्रहरूको चुनौती सम्बोधन गर्न स्थानीय तथा प्रान्तीय संरचनालाई क्रियाशील तुल्याउनुपर्ने माग गरेका छन् ।

सेवाग्राही जनताका लागि सरकारी अस्पताल र स्वास्थ्य केन्द्र सदैव खुला गर्नुपर्ने उल्लेख गर्दै राणाले उपचार नगरी बिरामी फिर्ता पठाउने निजी अस्पताललाई कारबाही गर्नुपर्ने सुझाब दिएका छन् ।

चुनौतीका बाबजुद पेसागत धर्म निर्वाह गर्ने स्वास्थ्यकर्मीप्रति उनले प्रशंसनीय सेवाका लागि धन्यवाद दिएका छन् । 



 



  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १३:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया