नेपालमा कोरोनाको हटस्पट बन्दै सुदूरपश्चिम

काठमाडौं– गत साल डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरमा पहिलो पटक मानिसमा देखिएको कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको स्थिति उत्पन्न गराइसकेको छ । छिमेकी मुलुक भारतमा दैनिक कोरोनाका संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

युरोप र अमेरिका अहिले यसका कारण आक्रान्त बनेका छन् । 

नेपालमा पनि अब कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । यसले नेपालीबीच कोरोनाको त्रास अर्को स्तरमा बढाएको अनुभूत गर्न सकिन्छ । झन्, डरलाग्दोे कुरा त अब नेपालमा पनि कोरोना सामुदायिक ट्रान्समिसन देखिन थालेको छ, अर्थात् सोसल ट्रान्समिसन । 

यसको अर्थ हो, नेपालमा अब कोरोना भाइरस समाजमा फैलिन सक्ने सम्भावना बढ्दो छ । यसअघि नेपालमा विदेशबाट आएका मानिसमा मात्र कोरोना भाइरस संक्रमण देखिएको थियो । तर, स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्किएका एक युवाको घरमा उनीबाट कोरोना भाउजूलाई सरेको छ ।

ती महिलालाई पनि अहिले उपचारका लागि सेती अन्चल अस्पतालमा राखिएको छ । सँगसँगै यसले अर्को डर पनि पैदा गरेको छ । 

किनकि विश्वका अरु देशलाई हेर्ने हो भने कोरोना भाइरस जब सामुदायिक ट्रान्समिसनमा देखिन थालेको छ, तब धेरै मानिसमा यो एकै पटक विस्तारित भएको देख्न सकिन्छ । यसरी समुदायमा एक जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अरु धेरैको परीक्षण पनि पोजेटिभ आउन थालेको छ । 



नेपालमा पनि यो अवस्था सुदूरपश्चिमबाट देख्न सकिने सम्भावना बढेको छ । 

यसका लागि दुई कारणहरु हेरौँ । 



पहिलो, अब सुदूरपश्चिमका कैलाली र कन्चनपुरमा कोरोना संक्रमित भेटिइसकेका छन् । नेपालका कूल कोरोना संक्रमितमध्ये ४५ प्रतिशत यी दुई जिल्लामा भेटिएका छन् । अनि कैलालीमा नै नेपालमा सबैभन्दा पहिले कोरोना भाइरस समुदायमा विस्तारित भएको पाइएको छ । यसले त्यहाँ अन्यलाई पनि कोरोना संक्रमण हुनसक्ने सम्भावना बढाएको छ । 

दोस्रो, सुदूरपश्चिमका भारतीय सीमासँग जोडिएका नाकामा केहीअघि सयौँ नेपालीहरु आएका थिए । त्यही भीडमा एक जना युवा थिए, जसमा कोरोना संक्रमण पुष्टि भएर अहिले उपचार गराइरहेका छन् । सन्त्रासको माहोल किन बढेको छ भने ती युवाले त्यहाँ धेरैलाई कोरोना संक्रमण गराएको हुनसक्ने अनुमान छ । 

तर, नेपालमा अहिले पनि कोरोना संक्रमणको यथेष्ट चेकजाँच हुन सकेको छैन । त्यसैले यो समयमा सुदूरपश्चिममा अझ बढी डरको माहोल बढेको छ । यो स्वभाविक पनि हो, जहाँ सयौँ मानिसहरु भारतबाट आएका छन् र जहाँ भारतबाट आएका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ, त्यहाँ डर बढ्छ नै । 

यी तथ्यहरुलाई केलाउँदा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सुदूरपश्चिममा अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले विज्ञहरुले अब चेतावनी दिन थालेका छन्– नेपालमा कोरोनाको हटस्पट सुदूरपश्चिम बन्न सक्छ !

  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १५:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया