कञ्चनपुर — कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका १४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महाकाली अस्पतालले आइतबार १४ जना सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब संकलन गरेको छ।
भारत उत्तराखण्डको लुहाघाटबाट आएका कञ्चनपुरको बेदकोट नगरपालिकाका ती संक्रमित टनकपुरबाट ट्युबमा महाकाली तरेर भीमदत्त नगरपालिका-९ खल्ला पुगेका थिए। खल्लाबाटै उनीसहित ११ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जाँचपछि बेदकोटकै सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखेको हो।
नियन्त्रणमा लिने सुरक्षाकर्मीको टोली र उनीहरुलाई बोक्ने सवारी चालक, सहचालक र मालिकको स्वाब संकलन गरिएको महाकाली अस्पतालका डा. सरोज आचार्यले जानकारी दिए। उनीहरुमा कुनै लक्षण भने देखिएको छैन। सम्पर्क भएकै कारण परीक्षणका लागि स्वाब संकलन गरिएको हो।
सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरसिंह साहुले ट्युबमा तार्ने व्यक्तिको पनि पहिचान भइसकेको र खोजी भइरहेको बताए। आइतबार स्वाब संकलन गरिएका सुरक्षाकर्मी र अन्य तीन जना क्वारेन्टाइनमा रहने साहुले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।