एक्लो सन्तानको यसरी हेरचाह गर्नुस्, ता कि ऊ जिद्दी र एकलकाटे नबनोस्

एक्लो बच्चा अक्सर कम बोल्ने, लजालु, एकलकाटे स्वभावको हुन्छ । ज्यादा लाड–प्यार मिल्नाले केही जिद्दी पनि हुन सक्छन् । यस्तोमा एक्लो सन्तान हुने बाबुआमाले आफ्नो सन्तानको हेरचाह विशेष किसिमले गर्नुपर्छ । 

बच्चाकाे यस्तो हेरचाह गर्नुस् कि ऊ जिम्मेवार र समझदार बनोस् । यसका लागि हेरौँ विज्ञका केही टिप्स :

बच्चालाई सेयरिङ–केयरिङ सिकाउनुस् 

जब एक मात्र बच्चा हुन्छ, घरका सबै सदस्य उसको अघिपछि घुम्छन् । यस्तोमा बच्चालाई खेल–खेलमा सेयरिङ र केयरिङ सिकाउनु आवश्यक छ । 

बच्चालाई हजुरबा, हजुरआमा तथा ठूलाबडाको आदर र सेवा गर्न, आफ्ना चिजवस्तु उनीहरुसँग बाँड्न सिकाउनुपर्छ ।

यदि उसको उमेरको कुनै बच्चा ऊसँग खेल्न चाहन्छ भने उसका खेलौनाहरु साथीलाई दिन लगाउनुस् । यसले बच्चामा सेयरिङको आदत बस्छ, र ऊ कन्जुस या एकलकाटे हुँदैन । 



पर्याप्त समय दिनुहोस् 

बच्चालाई महँगा खेलौना, मोबाइल, गेम्स र अन्य सुविधाले मात्र पुग्दैन, तपाईंको समय पनि चाहिन्छ । बाबुआमा दुवै काम गर्नुहुन्छ भने तपाईंसँग समयको कमी त हुन्छ नै । तैपनि, तपाईंको बच्चालाई सकेसम्म धेरै समय छुट्याउने कोसिस गर्नुस् ।



ऊसँग खेल्नुस्, ऊसँगै उसका किताब, खेलौनालगायत सरसामान सफा गर्नुस्, किचनमा ऊसँग सानोतिनो सहयोग लिनुुस् । सुत्नेबेला उसलाई मीठा कहानी सुनाउनुस् । 

बच्चालाई घरबाहिर खेल्न पठाउनुस्, ता कि उसको सामाजिक दायरा फराकिलो होस् । साथै, ऊ आफ्ना कुरा अरुसँग सेयर गर्न सकोस् । 

हरेक माग पूरा नगर्नुस् 

एक्लो बच्चामाथि बाबुआमाको ज्यादा नै लगाव हुन्छ । जिद्दी र चकचके बच्चा सबैलाई मन पर्छ । तर, अलिकति पनि लगाम नलगाउने हो भने उसको यो बानी उच्छ्रिंखलता बन्न समय लाग्दैन । यसैले, बच्चाको हर डिमान्ड पूरा नगर्नुस् । उसलाई पैसाको मूल्य सम्झाउनुस् र जे छ त्यसैमा एडजस्ट गर्न सिकाउनुस् । 

साथी बनेर रहनुस् 

एक्लो बच्चासँग तपाईं आफैँ साथी बनेर बस्नुपर्छ । बढ्दो उमेरको बच्चासँग साथीजस्तै व्यवहार गर्ने कोसिस गर्नुहोस् । ऊसँग खेल्नुस् ।

बच्चालाई स्पोट्र्स, फिजिकल एक्टिभिटी र योगमा सामेल गराउनुस्, ता कि उसको राम्रो मानसिक विकास होस्, आत्मविश्वास बढोस् । 

जिम्मेवार बनाउनुस् 

एक्लो बच्चालाई मायाका साथ जिम्मेवारीको बोध पनि गराउनुपर्छ । उसलाई जीवनको वास्तविकताबारे बताउनुपर्छ । 

बच्चालाई स–साना जिम्मेवारी दिइराख्नुस् र केही कठिन परिस्थितिमा उसको राय पनि लिनुहोस् । उसलाई लागोस् कि तपाईंका लागि ऊ महत्वपूर्ण छ, परिवारमा उसको पनि जिम्मेवारी छ । यसले उसमा आत्मविश्वास पनि बढाउँछ । 

संवेदना जगाउनुस्

बच्चासँग संवाद गरिरहनुपर्छ । स्वस्थ छलफल गरेर उसलाई संवेदनशील बनाउन सकिन्छ । उसका भावनालाई चिनेर त्यसअनुसार प्रतिक्रिया दिनुहोस् ।

उसलाई खुलेर आफ्ना कुरा राख्ने मौका दिनुस्, र उसका कुरा ध्यानपूर्वक सुन्नुस्, ता कि बच्चाको मनमा कुनै कुरा नदबोस् । 

  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार ६:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया