कोरोनाभाइरसः प्रधानमन्त्री ओलीको दोस्रो सम्बोधन– के अपेक्षा गर्ने ?
फाइल तस्वीर ।

काठमाडौं– सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक नेपाल लकडाउनको समयसीमा बढाउने निर्णय गरेको छ । विश्वव्यापी महामारी कोरोनाभाइरस संक्रमण रोकथामका लागि पछिल्लो समय नेपालजस्तो ‘विकासोन्मुख’ देशका लागि लकडाउन नै उपयुक्त निर्णय देखिएको छ । यसले कोरोनाभाइरसको ‘कम्युनिटी ट्रान्समिसन’ रोक्न ठूलो सहयोग गरेको विश्वका अन्य मुलुकका उदाहरणबाट पनि बुझ्न सकिन्छ । 

तर, लकडाउनको समयमा सरकारले जे काम जुन गतिमा गर्नु पर्ने हो, त्यो नेपालमा हुन सकेको छैन । एउटा उदाहरण नेपालमा भएका परीक्षणलाई नै लिन सकिन्छ । 

नेपालमा सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण १० माघमा नै देखिएको थियो । त्यसपछि हामीले दुई महिना काटिसकेका छौँ, लकडाउनका दुई साता काटिसकेका छौँ । तर, अझै पनि नेपालमा कोरोनाभाइरस परीक्षणको ¥यापिड टेस्ट हुन सकेको छैन, यथेष्ठ परीक्षण हुन सकेको छैन । सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म नेपालमा १८९० जनाको मात्र कोरोना परीक्षण भएको छ । त्यो पनि आशंकामा अस्पताल पुगेकाहरुको मात्र ।

कोरोनाभाइरस संक्रमणलाई समयमा नै काबुमा लिन यो परीक्षणको दायरा निकै बढाउनु पर्ने हुन्छ, दक्षिण कोरिया, जर्मनीबाट यही पाठ सिक्न सकिन्छ । अनि इटलीले र स्पेन सुरुमा यही कुरामा चुकेका थिए । 

छिमेकी भारतको प्रसंगलाई पनि लिने हो भने त्यहाँ जति बढी परीक्षण भएका छन्, त्यति नै बढी संक्रमित भेटिन थालेका छन् । यता नेपालमा चाहिँ यी दुई साताको लकडाउनमा पनि आवश्यक परीक्षण हुनसकेको छैन । त्यसैले नेपालमा संक्रमितको संख्या कम भेटिएको हो भन्ने अनुमान धेरै आएका छन् । 

यो स्वभाविक पनि हो, किनकि सुदूरपश्चिममा अब कोरोनाभाइरस संक्रमण दोस्रो तहमा पुगिसकेको छ, अर्थात् कम्युनिटी ट्रान्समिसनमा । 



अनि सुदूरपश्चिममा नै भारतबाट आएका दुई युवामा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यो क्षेत्रमा नेपालमा लकडाउन घोषणा गरिसकेपछि नै हजारौँ नेपाली भारतबाट आएका छन् । उनीहरुलाई सरकारले अहिलेसम्म ट्रेस गर्न सकेको छैन । यता, नेपालमा कोरोना संक्रमितका रुपमा पुष्टि भएकी दोस्रो व्यक्ति १९ वर्षीया युवती आएको विमानमा आएका अन्य दुई जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ । तर, त्यही विमानबाट आएका अन्य व्यक्तिलाई पनि सरकारले पहिचान गर्न सकेको छैन ।

यसले गर्दा अहिले नेपालमा संक्रमित भएको छैन भनेर बस्ने अवस्था छैन । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली स्वयंले सोमबारको मन्त्रिपरिषद् बैठकमा भनेका छन्– आउटब्रेक जहिले पनि हुनसक्छ ।



यहीबीच सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक पनि बोलाएका छन् । त्योभन्दा अगाडि नै उनले देशवासीका नाममा सम्बोधन पनि गर्दै छन् । 

नेपालमा लकडाउन घोषणा भएसँगै सरकारले गरेका केही कामहरु निकै विवादमा आएका छन् । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा ओम्नी ग्रुपसँग गरिएको सम्झौता रद्द गरिनु, सेनालाई यसको जिम्मेवारी दिइनु, भारतबाट नेपाल आउन खोजेका नेपालीलाई सीमामा नै रोकिनु, नेपाल एयरलाइन्सको विमान अष्ट्रेलिया उडान गर्दा कमिसनको प्रसंग आउनुलगायतका विषयले योबीचमा सरकारको चर्को आलोचना भयो ।

के यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सम्बोधनमा कुरा उठाउलान् ? अब यसबारे चासो बढेको छ ।

यो प्रसंगभन्दा पहिले दुई साताअघि प्रधानमन्त्री ओलीले गरेको सम्बोधनलाई सम्झिऔँ । 

त्यो सम्बोधनमा उनले वुहानबाट नेपाली फिर्ता ल्याएको, आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण जानुअघि समन्वय समिति बनाएको, महामारीसँग जुध्नका लागि सोसल डिस्टेन्सिङ फलो गर्न निर्णय लिएको बताएका थिए । उनले त्यो सम्बोधनमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्न र भीडभाडमा नजान नेपालीलाई अनुरोध पनि गरेका थिए । अनि भनेका थिए– धैर्यवान हुनुहोस्, सवाधान हुनुहोस् तर आतंकित नहुनुहोस् ।

उनले विदेशबाट आएका सबैलाई कम्तिमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्न अनुरो पनि गरेका थिए । अनि भनेका थिए– कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सम्बोधन गर्दा नेपालमा लकडाउन आह्वान नै गरिएको थिएन ।

यसबीच विश्वव्यापी महामारीलाई नेपालमा रोक्न सरकारले पहिले एक साता लामो र त्यसपछि दुई पटक एक एक साता गरेर लकडाउन लम्ब्याएको छ । 

त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आज आउने सम्बोधनलाई विशेष प्राथमिकताका साथ हेरिएको छ । 

अनि यो सम्बोधनमा उनले मुख्यतः तीन विषयमा प्राथमिकता दिने सम्भावना बढी रहेको उनीनिकट नेताहरु बताउँछन् । 

पहिलो, उनले यो अवधिमा सहयोग गरेकोमा नेपाली नागरिकलाई धन्यवाद दिनेछन् । यसमा उनले केही भावुक शब्दहरुको संयोजन गरेर केही समय खर्चन सक्ने अनुमान छ । योसँगै उनले सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिनेछन् । अनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई पनि उनले धन्यवाद दिने छन् ।

दोस्रो, उनले यसबीचमा सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्नेछन् । सरकारले लकडाउन गर्दा पनि खाद्यान्न तथा अत्यावश्यक वस्तुहरुलाई घरमा नै पुर्याउने व्यवस्था मिलाएको, जनजीवनलाई सहज बनाउन प्रयास गरिरहेको विषयमा उनले केही समय खर्चनेछन् । उनले लकडाउनलाई बाध्यातमक अवस्था भन्दै सीमामा र विदेशमा रोकिएका नेपालीलाई शान्त हुन र सरकार नेपालीकै पक्षमा रहेको पनि दाबी गर्ने सम्भावना छ ।

तेस्रो, प्रधानमन्त्री ओलीले नयाँ केही आर्थिक प्याकेजको घोषणा गर्न सक्ने सम्भावना व्यापक रहेको बताइएको छ । उनले स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे पनि

छानबिन गर्ने र वास्तविकता बाहिर ल्याउन समिति बनाउने घोषणा गर्न सक्नेछन् । तर, सचिवालय बैठकभन्दा अगाडि नै प्रधानमन्त्रीको सम्बोधन आएको खण्डमा उनले यस विषयमा केही नबोल्न सक्ने पनि अनुमान गरिएको छ ।

यी मुख्य बुँदाहरुसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दलहरुबीच एक मत हुनु पर्ने समय भएको र कोरोनाभाइरसको यो महामारीमा विपक्षीले गरेका कटाक्ष आफूले थाहा पाएको र त्यसलाई बिर्सिएर अगाडि बढ्न आह्वान गर्न सक्नेछन् । 

  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार ०:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया